Print

पर्वतको सेराफाँट देखि मुस्ताङको मुक्तिनाथसम्मको केबुलकारको लगानी सरकारले स्वीकृत गर्यो

२३ जेठ, काठमाडौँ। लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबुलकार परियोजनाको लगानी स्वीकृति गर्दै विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट वीरेठाँटी र नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशन सहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केबुलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो ।

५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण बुट ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो ।

बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केबुलकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठूलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

अनलाइन खबरबाट साभार