२१ वैशाख, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा लागू औषध दुर्व्यसनी बढेको प्रति सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । यहाँ आयोजीत एक कार्यक्रमका सहभागीहरुले लागू औषध दुर्व्यसनी बढेको भन्दै यसको रोकथाममा जोड दिनुपर्नेमा जोड दिएका हुन् ।
कुश्मा नगरपालिका क्षेत्रमा पछिल्लो समय युवा पुस्ताहरु दुर्व्यसनीमा फस्दै गएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम बिकले यसको रोकथाममा सवै पक्षले ध्यान दिनुपर्ने धारणा राख्नुभयोे । उहाँले देशको उर्बर जनशक्ति नै दुर्व्यसनीमा फस्दै जाँदा त्यसले समग्र देशको विकासमा समेत बाधा पर्ने विचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेले लागू औषध दुर्व्यसनी न्यूनिकरण गर्न स्थानीय तहहरुले पनि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रयोगकर्तालाई कानून बमोजीम ढण्ड सजाय हुने भएकाले यस्तो दुब्र्यसनीमा नफस्न आग्रह गर्नुभयोे । कुश्मा बजार क्षेत्रमा भारी मात्रामा प्रयोगकर्ता नभएपनि केहि संख्यामा रहेका भन्दै प्रयोकर्तालाई परामर्श माध्यमबाट दुर्व्यसनीबाट मुक्त गर्नुपर्ने घिमिरेले बताउनुभयो ।
लागू औषध नियन्त्रणका लागि सुरक्षा निकायका सबै संयन्त्रहरु सवै बेलामा तयार रहेकाले तथ्यपरक सुचना सवै पक्षले उपलब्ध गराउनुपर्ने घिमिरेको भनाई थियो । प्रमुख जिल्ला अधिकारी घिमिरेले लागू औषध दुर्व्यसनी बढ्दो चुनौतिको बिषय भएकाले यसको निराकरणका लागि विशेष कार्ययोजना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रबिन बिष्टले अभिभावकहरु आफ्ना सन्तती दुब्र्यसनीमा फस्दै छन कि छैनन भन्ने तर्फ सचेत रहनुपर्ने धारणा ब्यक्त गर्नुभयो । साथीसंगतको फलका कारण दुर्व्यसनी तर्फ युवाहरु आकर्षित हुँदै गएको भन्दै साथीको चयन गर्दा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । बिष्टले प्रहरीले जुनसुकै अवस्थामा पनि दुर्व्यसनी प्रयोगकर्ता र ओसारपोसारमा संग्लन्नलाई कानून बमोजीम कारबाही गर्ने भन्दै युवाहरुलाई यस्तो कुलतमा फस्न नदिने नै राम्रो बिकल्प रहेको समेत बताउनुभयो ।
कार्यक्रममा प्रहरी निरिक्षक सुमित श्रेष्ठले हालसम्म लागू औषध नियन्त्रणमा पर्वत प्रहरीले गरेको कारबाहीको विषयमा जानकारी प्रदान गर्नुभएको थियो । श्रेष्ठले लागू औषध के हो यसको प्रयोगले कस्तो असर पुराउँछ भन्ने विषयमा समेत प्रस्तुतीकरण राख्नुभएको थियो । विगत ३ बर्षको तथ्यांकका आधारमा पर्वतमा १३ जना उपर लागू पदार्थ ओसारपोसार सम्बन्धि मुद्दा दर्ता भएको श्रेष्ठले कार्यक्रममा बताउनुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा न ६ का वडा अध्यक्ष ईश्वर गिरी, पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि. पौडेल, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, शिक्षक देबेन्द्र पौडेल, औषधि ब्यवसायी संघका प्रतिनिधिहरुले आफ्नो आफ्नो विचार र धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता पत्रकार छविलाल तिवारीले गर्नुभएको थियो । कुश्मा नगरपालिकाले स्थानीय सञ्चार माध्यम र प्रहरीसंगको सहकार्यमा नगरपालिकामा लागू औषध दुर्व्यसनी न्यूनिकरण कार्यक्रम सञ्चालन गरीरहेको छ । कार्यक्रम अन्तर्गत यस अघि नगर भित्रका झण्डै १ हजार विद्यार्थीहरुलाई दुर्व्यसनीको विषयमा अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको आयोजना शुभ सन्देश मिडिया प्रालिले गरेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार गणेश गिरीले गर्नुभएको थियो ।




