१८ चैत, पर्वत । नेपाली काँग्रेसको एक सय दिने अभियान विशेष अभियान अन्तर्गत प्रदेश सभा ‘क’ अन्तरगतका वडा तथा स्थानीय तहहरूको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालय बि.पी स्मृति प्रतिष्ठानमा भएको कार्यक्रममा नेपाली काँग्रेसले सञ्चालन गरेको सय दिने अभियानमा गरिएका गतिविधिहरू र तिनीहरूको प्रभाव लगायतका विषयमा समीक्षा गरिएको छ । कार्यक्रममा वडा तहदेखि स्थानीय तहसम्मको अभियानको क्रममा भएका समग्र गतिबिधिहरुको बारेमा छलफल भएको नेपाली काँग्रेस पर्वतका सचिव गुप्तानिधि शर्माले बताउनुभयो । नेपाली काँग्रेस पर्वतले पहिलो पटक यसरी समीक्षा कार्यक्रम गर्दा पार्टीलाई बलियो बनाउन बल मिलेको उहाँको भनाइ छ । कार्यक्रममा पार्टीको तल्लो तहदेखि नेतृत्वसम्मका कुराकानीहरूको अभियानका लागि खटाइएका प्रतिनिधि र अनुगमन गरेका प्रदेश सभा ‘क’ सभापति राजकुमार क्षेत्रीले कार्यक्रममा प्रतिवेदन पेस गर्नुभयो । यस्तै जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद घायल र गणेश बहादुर क्षेत्रीले समष्टिगत प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रतिवेदनहरूमाथि छलफल तथा समीक्षा हुँदा वडा सभापतिदेखि त्यहाँ खटिएका प्रतिनिधिहरूले प्रभावकारी रूपमा अभियान सञ्चालन गरेको निष्कर्ष निस्किएको छ । अभियानको क्रममा गर्ने भनिएका सङ्गठनात्मक कामहरूको कार्यान्वयन, तिनीहरूको कार्यान्वयनमा भोग्नुपरेका चुनौतीहरूको बारेमा पनि समीक्षा भएको छ । अभियानका क्रममा कुनै चुनौती आएको भएमा आगामी दिनमा आवश्यकताका आधारमा सुधार गर्न सकिने समीक्षा कार्यक्रममा निष्कर्ष निस्किएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले हालसम्मको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भएको तर यसमा पनि गम्भीर समीक्षा गर्दै काँग्रेसले सुधार गर्नुपर्ने पक्षहरूको बारेमा कुराकानी हुनुपर्ने बताउनुभयो । कार्यक्रमको प्रभावकारिताको बारेमा सबैले समीक्षा गरेर नेपाली काँग्रेस पर्वतको सङ्गठनलाई बलियो बनाउन सबैको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो । समीक्षा कार्यक्रमले सुधार गर्नुपर्ने पक्षमा आवश्यक सुधार र राम्रो भएका पक्षहरूको प्रभावकारी कार्यान्वयनमा सभापति जोशीले जोड दिनुभएको छ ।
सभापति जोशीकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डा. चूडामणि शर्मा र सञ्चालन सचिव गुप्तानिधि शर्माले गर्नुभएको थियो ।
नेपाली काँग्रेसको एक सय दिने अभियान विशेष अभियान अन्तर्गत प्रदेश सभा ‘ख’ को समीक्षा कार्यक्रम यही चैतको १९ गते आयोजना गरिएको छ ।