१६ पुस, पर्वत । दुई प्रदेश जोड्ने महत्वगामी मोटरेवल पुलको निर्माण कार्य सम्पन्न भएको छ । पर्वत जिल्ला र गुल्मी जिल्लाई जोड्ने कालीगण्डकी नदी माथि निर्माण गरिएको पुलले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलाई सडक सञ्जाल मार्फत जोड्दछ ।
निर्माण शुरु गरिएको ८ बर्ष पछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको छ । पुलको आज एक कार्यक्रमका वीच गुल्मी जिल्लाका प्रतिनिधि सभाका सांसद डा. चन्द्र भण्डारीले उद्घाटन गरेका छन् । सडक उद्घाटन गर्दै सांसद भण्डारीले आफूले १५ बर्ष अघि अगाडि बढाएको आयोजना सम्पन्न हुँदा आफै निकै हर्षित भएको बताए ।

उनले गुल्मीको पश्चिमी भेगलाई पर्वत हुँदै पोखरा र काठमाण्डौं समेतलाई जोड्ने उक्त मोटरेवल पुल विभिन्न प्राविधिक समस्याका कारण ढिला निर्माण सम्पन्न भएको समेत बताए । उक्त पुलले पर्वतको विहादी गाउँपालिका–३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाट जोडदछ ।
२०७३ भदौमा १४ करोड ६७ लाखमा पुल बनाउन सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०७६ चैतसम्म कार्यसम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो । विविध कारणले आठ वर्षपछि मात्र पुल निर्माण सम्पन्न भएको हो । पुल निर्माणको जिम्मा पाएको एलिट कन्स्ट्रक्सन प्रालिले कोरोना संक्रमण, निर्माण सामग्री अभाव तथा सरकारबाट रकम भुक्तानीमा भएको ढिलाइ लगायतका कारणले पुल निर्माण समयमै सम्पन्न हुन नकसकेको बताएको छ ।

पुल निर्माणका लागि तत्कालीन तम्घास सिमलटारी प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौंबीच सम्झौता भए पनि बीचमा उक्त कार्यालय नै खारेज भएका कारण पुल निर्माण कार्य लम्बिएको थियो । विसं २०७९ मा सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएपछि पुल निर्माणले गति लिएको थियो । पुल निर्मासँगै उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर र पर्वत खण्डतर्फको कालीगण्डकी लोकमार्ग समेत जोडिएका छन् ।

पुलको उद्घाटन शत्रमा विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले पुल निर्माण हुँदा विहादी क्षेत्रलाई समेत फाइदा पुग्ने विश्वास लिए । उनले विकास निर्माणको काममा राजनीति नगरी कामहरु अगाडि बढाउनु पर्ने भन्दै यस्ता कार्यक्रमहरुमा सवैको सहभागीता हुँदा विकासले अझै गति लिने विश्वास समेत दिलाए ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले गाउँपालिकालाई बजारीकरण गर्न मोटरेवल पुलले थप सहयोग पुग्ने बताएका थिए ।