Print

नगरबासीको स्वास्थ्य प्रति कुश्मा नगरपालिका संवेदनशिल छ : नगरप्रमुख जोशी


२८ कार्तिक, पर्वत । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरबासीको स्वास्थ्य प्रति नगरपालिका संवेदनशिल रहेको बताएका छन् । उनले नगरबासीले पाउने आधारभूत स्वास्थ्य सेवा तोकिएकै समयमा पाउनुपर्ने कुरामा नगरपालिका संवेदनशिल रहेको बताएका हुन् ।

कुश्मा नगरपालिकाका केहि वडाहरुमा सञ्चालन हुन लागेको मुख स्वास्थ्य कार्यक्रमको परियोजना बैठकलाई सम्बोधन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले मुख स्वास्थ्य परियोजना अत्यन्त महत्वपूर्ण रहेकोले नगरपालिकाले सहकार्य गरेको उल्लेख गरे । नगर प्रमुख जोशीले कुश्माका पाँच वटा वडा मात्र नभएर १४ वटै वडाले लाभान्वित हुने गरी परियोजना सञ्चालन गर्नका लागि नगरपालिकाले थप सहकार्य गर्न तयार रहेको पनि बताए । ‘बाँकी वडामा पनि यो परियोजना सञ्चालन गर्नका लागि नगरपालिका सहकार्य गर्न तयार छ’ उनले भने ।

पर्वतको कुश्मा नगरपालिकाका पाँच वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९, १० र ११ मा परियोजना सञ्चालन गरिएको हो ।

कुश्मा नगरपालिकाको सहकार्यमा जिभाय नेपालले जिभाय फाउण्डेसनको सहयोगमा परियोजना सञ्चालन गरेको हो ।