३ कार्तिक, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाको लुंखु देउरालीमा रहेको मेलढुंगो यति बेला महशिला बनेको छ । संघीयताको कार्यान्वयनसंगै महाशिला गाउँपालिका बनेपछि यो ढुंगाको महत्व अझै बढेको हो । महाशिला गाउँपालिकाकाले पर्यटन प्रवद्र्धनका लागि बनाएको महाशिला एक बिशाल ढुंगो हो ।
ढुगालाई कलात्मक तरिकाले साजसज्जा गरेर इश्वरीय संरचना निर्माण पश्चात यहाँ आन्तरीक तथा बाह्य पर्यटकहरु भित्राउने गाउँपालिकाको योजना रहेको छ । सोहि बमोजीम यो क्षेत्रमा अहिलेसम्म झण्डै ७ करोड रकम खर्च गरेर आकर्षक संरचना निर्माणको काम भईरहेको छ ।
सोहि स्थानमा महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २० लाख लागतमा भवन निर्माण गरिएको हो ।
विसं २०७८ भदौदेखि निर्माण सुरु भएको भवन हालै सम्पन्न भएको हो । तीन तला भएको पक्की भवनमा १७ वटा कोठा रहेका छन् । जसमा तालिम, गोष्ठि तथा सेमिनारका लागि हल, योग तथा साधना गर्नेका लागि समेत कोठा निर्माण गरिएको जनाइएको छ ।
महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशबाट आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । आश्रम भवनको सबैजसो काम सकिएको जनाइएको छ ।
चालु आर्थिक वर्षमै भवनबाट सेवा सञ्चालनका लागि एक करोड ५० लाख बजेट बिनियोजन भइसकेको जनाइएको छ । भवनमा एकपटक ५० जनाभन्दा व्यक्ति बस्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिए । आश्रम आउने पर्यटकलाई निःशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ ।
लुुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका स्थानबाट पछिल्लो समय पर्यटक आउने क्रम बढेको स्थानीय सरस्वती अधिकारीले बताए । महाशिला हिँडेर एक पटक परिक्रमा गर्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताए ।
महाशिला गाउँपालिका–५ लुंखुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला । महाशिलाको प्रवद्र्धनका लागि रु सात करोडभन्दा बढीका आकर्षक संरचना बनेपछि अवलोकन र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।