२२ साउन, पर्वत । बागलुङको ऐतिहासिक धार्मिक शत्तिपिठ बलेवा भैरवास्थान मन्दिरमा हरेलो मेला गरिने भएको छ । बागलुङ नगरपालिका वडा न।१२ मा रहेको मन्दिर परिसरमा तेस्रो हरेलो मेला गरिने भएको हो । ‘भैरवस्थान मन्दिरको दर्शन–कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबर्धन’ भन्ने मूल नाराका साथ अगामी भदौ ४ गते मंगलबारको दिन मेलाको आयोजना गरिएको आयोजक भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए ।
मेलाको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष एवं चन्द्रप्रसाद ढकाल आउने भएका छन । प्रसिद्ध भैरवस्थान मन्दिरको ऐतिहासिक धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिबृद्धि गर्ने गरी यसको व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको अध्यक्ष ढकालले जानकारी दिए । बागलुङ नगरपालिका वडा नं १० भकुण्डे ११ रायडाँडा १२ अमलाचौर १३ पैयुँपाटा १४ नारायणस्थान र जैमिनी नगरपालिका १ को कोटको रुपमा समेत रहेको मन्दिर परिसरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ । मेलामा भकुण्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गित प्रस्तुती, पैयुँपाटाको नौमती बाचा, नारायणस्थानको लाखे र कुश्मिसेराको सालैजो विशेष पस्तुतीको रुपमा रहने छ । मेलामा खुल्ला छेलो प्रतियोगिताका साथै ख्याति प्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताईएको छ ।
मेलामा १३ लाख रुपैयाँ आम्दानी र १० लाख ९२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलाको लागि बागलुङ नगरपालिकाको विशेष सहयोग रहेको छ । मेलामा यहाँको ऐतिहासिक तरबार नाच पनि प्रस्तुत गरिने मेला मुल आयोजक समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए । भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गर्ने बताइएको छ ।
बाइसे चौबिसे राज्यको समयमा सन १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य भित्र पर्दछ । भदौको पहिलो मंगलबार यस क्षेत्रका किसानहरुले हरेलो पर्व मनाउने र मन्दिरमा धुमधामका साथ पुजा आजा गर्ने गर्छन । त्यही अवसरमा गत वर्ष देखी हरेलो मेलालाई अझै व्यवस्थित गरी मनाउन थालिएको छ । दुई दर्जन हिम श्रृंखलाको दृश्यावलोकन पनि गर्न सकिने अग्लो ठाउँको मन्दिरमा पुग्दा मनको इच्छा पुग्ने धेरैको विश्वास रहेको छ ।
नियमित पूजा हुने मन्दिरमा साताको मंगलबार र शनिबार भक्तजनहरुको चाप बढ्दो रहेको छ । मन्दिरलाई बलेवा क्षेत्रका दर्जनभन्दा बढी गाउँको कोटको रूपमा समेत चिनिएको छ । उक्त मन्दिरमा दर्शनार्थि सँगैै आन्तरिक पर्यटक पुग्ने क्रम बढदो रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढकाल बताउँछन । नारायणस्थान, पैयुँपाटा, अमलाचौर, भकुन्डे, रायडाँडा र कुश्मीसेरा लगायतका गाउँवासीले भैरवस्थानलाई परम्परागत कोटको रूपमा पनि मान्दै आएका छन । मौसमी समस्या र अन्य कामका लागि कोटको पूजागर्ने चलनरहेको छ । भैरवको पूजागर्दा आँटेको पुग्छ भन्ने विश्वासका साथ विभिन्न क्षेत्रबाट दर्शनार्थिहरु आउने गर्छन ।
मन्दिरमा तत्कालीन राजाहरूको भनिने पुराना खड्ग र त्रिशूल पनिरहेका छन । मन्दिर नजिकै पाग्जाकोटको धुरी पनि छ । धुरी नजिकै भ्युटावर पनि निर्माण गरिएको छ । भैरवस्थानबाट होमस्टे सञ्चालनमा आएको भकुन्डे नजिकै पर्छ । प्राकृतिक दृश्यावलोकन गरेर होमस्टेमा बस्ने चाहना भएका पर्यटक पनि भैरवस्थान पुग्ने गरेका छन । बागलुङ सदरमुकाम देखी झण्डै १० किलोमिटरको दुरीमा रहेको उक्त मन्दिरमा पर्वतको कुश्मा देखी यान्त्रिक पुल तरेर करिब २ घण्टाको पैदल दुरीमा त्यहाँ पुग्न सकिन्छ ।
मेलाको बारेमा सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा विगतका वर्ष भन्दा यस वर्ष मेलालाई अझै व्यवस्थित गर्ने अध्यक्ष ढकालले जानकरी दिए । पत्रकार सम्मेलनको संचालन सचिव भिम प्रसाद पौडेलले गरेका थिए ।