२१ असार, पर्वत । पछिल्लो समय सवारी साधनमा विद्युतीय गाडी अर्थात इलेक्ट्रोनिक गाडीको माग नेपाल भरी नै बढेको छ । देश भर विद्युतीय गाडीको माग बढेको बेलामा पर्वतमा नीजि सवारी साधन खरिद गर्नेसंगै भाडाको सवारी साधन खरिद गर्ने क्रम पनि शुरु भएको छ । कुश्मा बजारमा केहि ब्यवसायीहरुले भाडाको सवारीको रुपमा विद्युतीय गाडी अर्थात इभि समेतको खरिद गरेका छन् ।
इन्धनगाडीको विकल्पको रुपमा प्रयोग हुन थालेका विद्युतीय गाडी वातावरण मैत्री तथा इन्धनको चर्को शुल्कबाट जोगिने भरपर्दो सवारीको रुपमा लिइने गरिन्छ । भाडादर समेत न्यून हुने भएका कारण यात्रुको रोजाईमा समेत विद्युतीय सवारी पर्ने निश्चित छ ।
नेपालमा विभिन्न कम्पनीहरुले विद्युतीय गाडीको बिक्री गर्ने गरेका छन् । कुश्मामा पहिलो पटक निमिशा यातायात प्रा.लिले विद्युतीय गाडीलाई सार्वजनिक सवारीको रुपमा भित्राएको छ ।
कुश्मा देखि देशका विभिन्न भागमा जानका लागि उक्त गाडीलाई सार्वजनिक सवारीको रुपमा यात्रुले प्रयोग गरीरहेका छन् । कम्पनीका सञ्चालक नरेश क्षेत्रीले पहिलो पल्ट विद्युतीय गाडी भित्राएपछि गाडी प्रति यात्रुको निकै राम्रो आकर्षण रहेको प्रतिक्रिया दिन्छन् । अर्का ब्यवसायी गणेश पुरीले आफ्नो इन्धनको गाडी थन्काएर सार्वजनिक सवारीका लागि विद्युतीय ट्याक्सी खरिद गरेका छन् । कुश्मा देखि पोखरा, बागलुङ र देशका जुनसुकै स्थानमा जानका लागि पनि यात्रुले उक्त ट्याक्सी प्रयोग गर्न सक्छन् ।
योसंगै अन्य साना तथा ठूला सवारीका ब्यवसायीले समेत इभि गाडीलाई भाडाको गाडीको रुपमा प्रयोग गर्न थालेका छन् । निकै कम इन्धन शुल्कमा यात्रा गर्न मिल्ने भएका कारण विद्युतीय गाडीको खपत पछिल्लो समय ह्वातै बढेको छ । सरकारले समेत इभि गाडीको खरिदमा कर छुट दिदै आएको छ । नेपालमा विद्युत उत्पादनको प्रचुर सम्भावना भएका कारण पनि विद्युतीय गाडी प्रति सरकारको आकर्षण देखिन्छ ।
बर्षेनी बढिरहेको इन्धनको महंगो शुल्कबाट जोगिन विद्युतीय गाडी उपयुक्त विकल्प हो । पर्वतमा पहिलो पल्ट नीजि सवारी साधनको रुपमा विद्युतीय कार खरिदकर्ता नवराज गिरीले कार खरिद गरेको १ बर्षको अनुभव सुनाउँदै विद्युतीय सवारीमा बजार हल्ला जस्ता कुनै फल्ड नभएको बताउँछन् । सस्तो मूल्यको चार्जमा देशका सवैजसो ठाउँमा पुग्न सकिने विद्युतीय कार खरिदले इन्धनमा हुने ठूलो खर्च जोगिएको गिरीको अनुभव छ ।
पछिल्लो समय कुश्माको बन्जी क्षेत्रमा विद्युतीय गाडी चार्जिङ स्टेशन समेत राखिएको छ । नीति सवारी धनिले आफ्नै नीजि ग्यारेजमा विजुलीबाट चार्ज गर्न पाउँछन् । विभिन्न कम्पनी तथा सरकार स्वय्मले देशका विभिन्न भागमा चार्जिङ स्टेशनहरुको समेत विस्तार गरेको छ । यसो हुँदा विद्युतीय गाडी चार्जिङको समस्या समेत विस्तारै समाधान हुँदैछ ।




