Print

कानुन मन्त्रीले निरिक्षण गरे बाढिले बगाएको पुल

१७ असार, पर्वत । केही दिनअगाडिको वर्षाले राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरमा बगाएको निर्माणाधीन पुलको मन्त्रीसहितको टोलीले निरीक्षण गरेको छ।

कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीलगायतले पुल बगेको स्थानको अवलोकन गरेका हुन्। बर्खाको वेलामा काम गर्न थाल्नु नै गलत भएको उनले बताएका छन्।

मन्त्री गिरीले पुलसहित त्यस सडकखण्डको अवस्थाका बारेमा पनि जानकारी लिए। पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र वडा नं। १० कुर्घा जोड्ने गरी निर्माणाधीन पुल सम्पन्न होला कि भन्ने आसमा रहेको वेला बाढीले बगाएपछि त्यहाँका बासिन्दा दुःखी भएका भएका छन्।

यही वेला अवलोकन गर्न पुगेका मन्त्रीसँग स्थानीयले पुलको निर्माण यथाशक्य छिटो शुरु गरेर पर्वतको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने सहज बाटो निर्माणका लागि पहल गरिदिन अनुरोध गरे।

निर्धारित समयमा काम नै पूरा नभई लामो समयदेखि अलपत्र परेको पुलको कामले जसोतसो गति लिन थालेकोमा बाढीले तयार भएका संरचना नै बगाउँदा समस्या भएको छ।

स्थानीय र जिल्लावासीको गुनासो सुनेका कानुनमन्त्री गिरीले ठेकेदार कम्पनी तथा सडक आयोजनाको टिमलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिए।

आयोजना हर्ने इन्जिनियर सुरेन्द्र गौतम, ठेकेदार कम्पनीका प्रतिनिधि दिनेश थापासहित फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, उपप्रमुख शोभा क्षेत्री, दुईवटा वडाका वडाध्यक्ष र स्थानीयसहितको भेलामा मन्त्री गिरीले बर्खाको वेलामा काम गर्न थाल्नु नै गलत भएको बताएका छन्।

मौसम ठिक भएको समयमा काम नगरेर बर्खा लागेपछि खोलामा लगेर ‘सर्टिङ’ र ढलानको काम गर्नु भनेको खोलासँग निहुँ खोज्न जानु भएको भन्दै उनले अब बर्खा सकिँदासाथ पुलको काम सकिनुपर्ने उल्लेख गरे।

पुल निर्माणमा समस्या भएको भए आफू सङ्घीय सांसद भएको हैसियतमा समस्या समाधानको लागि बेलैमा पहल गरिएको हुने मन्त्री गिरीको भनाइ छ।

पुलको दुवैतर्फको संरचना निर्माण पूरा गरेर ‘स्लाब’ ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामाग्रीहरू बाढीले बगाएको थियो।

बाढीले निर्माण स्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप, र अन्य टेवा सामाग्रीहरू पुरै बगाएको निर्माण कम्पनी नयाँ बाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले बताएका छन्। यसबाट करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको दावी निर्माण कम्पनीले गरेको छ।

यो पुल २ वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण कार्य शुरु भएको थियो तर अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम भएको छ।

२०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने थियो। ५ करोड ८९ लाख ८९ हजार २७७ रुपैयाँको लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँ बाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो।

तर उक्त कम्पनीले सहायक ठेकेदार दिपज्योती निर्माण सेवालाई जिम्मा लगाएको थियो। २५ मिटर लामो र ११ मिटर चौडाको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोक मार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन।

पुल निर्माणका लागि चौथो पटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ। आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आगामी मंसिरभित्र पुल निर्माण गराइसक्ने दावी गरेका छन्।