९ जेठ, पर्वत । धार्मिकरुपमा विश्व प्रसिद्ध नदी हो, कालीगण्डकी । हिन्दु धर्मशास्त्रमा कृष्ण गण्डकीको नाउँबाट यस नदीलाई चिनिन्छ । तर, नदी निरन्तर दोहनको चपेटामा परीरहेको छ । नदीमा पाइने बालुवा र ढुंगा उत्खनन्नका लागि भईरहेको दोहनले न राज्यलाई राजश्व आएको छ, न त दोहन नै रोकिएको छ ।
२०७८ साल असार २९ गतेको अदालतको आदेश पछि नदी उत्खनन्बाट भएको विक्रीबाट आउने राजश्व रोकिएको छ । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले बार्षिक रुपमा बालुवा उत्खनन्बाट संकलन गर्ने करोडौं राजश्व गुमेको छ । पालिकाले नदीजन्य वस्तुको उत्खनन् र बिक्री गर्ने सम्बन्धि बोलपत्र आब्हान गर्न पाएका छैनन् । तर, नदीबाट उत्खनन्को क्रममा भने रोकिएको छैन् ।
प्रहरी, प्रशासनकै अघि भईरहेको दोहन रोक्न कसैले सामथ्र्य राखेका छैनन् । नदीबाट उत्खनन् भएका बालुवा र ढुंगाको बिक्री निरन्तर भईरहेको छ, त्यसवापत आउने राजश्व रोकिँदा स्थानीय तहहरुलाई भने ठूलो नोक्सानी भईरहेको छ ।
नदीजन्य वस्तुको उत्खनन् सम्बन्धि आदेशको पूर्ण फैसला अदालतबाट अझै आएको छैन् । उता, निरन्तर उत्खनन् भइरहेपछि पर्वत जिल्लाका केहि धार्मिक ब्यक्तिहरुले नदीमा पाइने शालग्राम संरक्षणको अभियान सञ्चालन गरेका छन् । नागरिक तहबाट दोहन रोक्न प्रयासहरु भइरहे पनि सम्बन्धित निकायहरुले भने ठोस योजना बनाईरहेका छैनन् ।
राज्यलाई आम्दानी नहुने तर उत्खनन् निरन्तर भईरहेको प्रति राज्यका निकायले कुनै कदम पनि चाल्न सकेका छैनन् ।
हिन्दू धर्मग्रन्थहरूमा कृष्णगण्डकी नदीको व्याख्या छ । वराह पुराणअनुसार महर्षि गण्डककी सुपुत्री गण्डकीले श्रीकृष्णको तपस्या गरी आफू गण्डकी नदी र श्रीकृष्णलाई सुपुत्रका रूपमा शालिग्रामका रूपमा प्रकट गरेको उल्लेख छ ।
श्रीमद्भागवत महापुराणमा नदीहरूमा श्रेष्ठ नदी कृष्णगण्डकी रहेको व्याख्या छ । भगवान् विष्णुले यस क्षेत्रमा तपस्या गरेको र नदीको उद्भवस्थल मुक्तिनाथमा लोककल्याणका लागि विराजमान भएको सन्दर्भ पनि धार्मिक ग्रन्थमा पाइन्छ ।
कालीगण्डकी नदीको पानीलाई हिन्दु धर्ममा जल भनिन्छ । त्यो जललाई पवित्र मानिन्छ । नदीमा स्नान गर्दा पाप कटनी हुने जनविश्वास छ । नदीको धार्मिक महिमा धेरै छ ।
भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि यहि नदीको ढुंगा लगिएको छ । नेपालकै ठूलो धार्मिक चक्र निर्माण गर्न चितवनको माडी (अध्योया) मा पनि कालीगण्डकी नदी कै ढुुंगा लगिएको छ । रौतहटको गडीमाइ नगरपालिका स्थित शिव मन्दिरमा यहिको ढुंगा लगिएको छ । हिन्दू धर्माबलम्बीहरुले घर घरमा शालिग्राम शिलाको प्रतिकको रुपमा यहाँका ढुंगाहरु राख्ने गरेका छन् ।
तर पनि यसको संरक्षणको लागि सरकारी निकायबाट कुनै कदम चालेको देखिदैन् । धार्मिक स्थलको प्रवद्र्धन, संरक्षण र प्रचार गर्नका लागि गण्डकी प्रदेश सरकारले समेत जिम्मेवारी पुरा गरेको छैन् । संघ र स्थानीय तहहरुसंग पनि यस विषयमा ठोस कार्य योजना अझै निर्माण हुन सकिरहेको छैन् ।