Print

दुर्लुङमा सार्वजनिक सुनुवाई : दुर्लुङकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग

२७ वैशाख, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिकाले वडाहरुमा जनताको गुनासो सुन्नका लागि आयोजीत सार्वजनिक सुनुवाई कार्यक्रम अन्तर्गत विहिबार दुर्लुङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न, जिज्ञासाहरुको नगर प्रमुख रामचन्द्र जोशीले जवाफ दिएका थिए । स्थानीयले दुर्लुङकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरे । सहभागीहरुले नगर क्षेत्रको पर्यटकीय क्षेत्र मध्ये दुर्लुङकोटलाई पनि विशेष महत्व दिन नगरपालिकासंग आग्रह समेत गरे । धार्मिक र पर्यटकीय सम्भावना बोकेको दुर्लुङको विकासमा नगरपालिकको सहभागीहरुले ध्यानार्कण समेत गराए ।

कार्यक्रममा दुर्लुङलाई कोदो उत्पादनको पकेट क्षेत्र बनाउन माग गर्दै नगर भित्र दिर्घकालीन विकास आयोजनाहरुको शुरुवात गर्न सुझाब दिएका थिए ।

कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले जनतासंग नजिक भएर सुझाबहरु ग्रहण गर्दा आफूलाई काम गर्न थप सहज हुने धारणा राखिन् । कार्यक्रममा शिक्षा अधिकृत विष्णुप्रसाद तिवारी, वडा अध्यक्ष तेजप्रसाद पाध्या, स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्मा, कृषि शाखा प्रमुख सुस्मिता शर्मा शर्माले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।

सहभागीहरुले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र बाँदर नियन्त्रणसंग सम्बन्धित विषयहरुमा जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रश्न सोधेका थिए ।

जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक गणेश गिरीले सहजीकरण गरेको कार्यक्रमको उद्देश्य माथि योजना शाखा प्रमुख देवी शर्माले बताएकी थिइन् ।