२२ वैशाख, पर्वत । हिन्दु धर्म शास्त्रमा इन्द्रलाई बर्षातको देवताको रुपमा पुजा गरिन्छ । बर्षात गराउने देवताको रुपमा हिन्दु धर्माबलम्बिहरुले इन्द्र देवताको पुजाआजा गर्ने गर्दछन् ।
विगत लामो समय देखि पर्वत र यस आसपासको क्षेत्रमा बर्षात नभएको भन्दै पर्वतको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङका स्थानीयले इन्द्र देवताको आरधान शुरु गरेका छन् । अखण्ड रुपमा भजन गाएर इन्द्र देवतालाई खुशी बनाउने भन्दै यहाँका स्थानीयले अखण्ड भजनकृतनको शुरुवात गरेका हुन ।

स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा दुर्लुङ्गस्थित तारेकोटमा रहेको दुर्गा भगवतीको मन्दिर परिसरमा इन्द्र, बरुणदेवता र भगवान शिवको मुर्ति स्थापना गरि पुजापाठ सहित कृतन शुरु गरेका छन् ।
वैद्धिक हिन्दु धर्मशास्त्रमा देवताको राजाको रुपमा इन्द्र भगवानको पुजा गरिन्छ । इन्द्रको जन्म हुँदा पृथ्वीमा चट्यान सहितको कम्पन भएको धार्मिक विश्वास रहँदै आएको छ । मत्यलोकका जनतालाई सास्ती परेको कुरा धार्मिक अनुष्ठानको विधि मार्फत देवलोकमा जानकारी गराएको खण्डमा देवता प्रशन्न भएर लोकको भलाई गर्ने धर्म शास्त्रमा उल्लेख गरिएको छ ।
धार्मिक विश्वास अनुसार स्थानीयले बैदिक बिधि अनुसार इन्द्रदेवताको पुजापाठ, रुद्री सहित अखण्ड किर्तन शुरु गरेका छन् ।
हिउँदे बर्षात समेत नभएको पर्वत आसपासको क्षेत्रमा सुख्खयाम शुरु भएसँगै डढेलोको प्रकोप बढेर गएको छ । डढेलोले सयौ हेक्टर जंगलका क्षति पुराएको छ भने, बर्षात नहुँदा हिउँदे बाली लगाएका कृषकहरु मर्कामा परेका छन् ।




