जीवनी
तोयानाथ चालिसे उमेरले ८३ बर्ष पुगे । अहिले पनि उनको जोश र जाँगर भने उत्तिकै छ । उमेर बढ्दै जाँदा शारीरिक रुपमा कमजोर भए पनि चालिसेसँग समाज परिर्वतनको हुटहुटी अझै सेलाएको छैन । सेताम्मे कपाल, चाउरिएको छाला भएपनि चालिसेसंग अझै जोसिला देखिन्छन् । फुर्सद निकालेरै उनी अहिले पनि देशको राजनीतिको कुरा गर्छन् । कम्युनिष्ट पाटीको सरकार हुँदा सवै कम्युनिष्टहरु एक नभएकोमा भने उनलाई गुनासो छ ।

कुश्मा नगरपालिका वडा न ६ मा रहेको घरमा अहिले उनी एक्लै बस्छन् । केहि महिना अघि मात्र श्रीमती वियोगमा परेका चालिसेको जीवन सहारा भने अहिले चुडिएको छ । जीवन कार्यकालमा एक पटक जनताको प्रतिनिधि भएर निर्वाचन जितिसकेका चालिसेलाई फेरी अर्को पटक निर्वाचन लड्ने हुटहुटी भने नजागेको होइन् । उमेर, समय र परिस्थितीले अरु नेताले पाटीबाट टिकट पाए पनि चालिसे भने कहिल्यै निराश भएनन् ।
पर्वत जिल्लाको कम्युनिष्ट पाटीको संस्थापक नेता चालिसे १९९८ बैशाख २ गते जन्मिएका हुन् । विद्रोहको स्वरमा तागत राख्ने चालिसेले जीवनमा २०१३ सालमा अपमानको सामना गर्नुपरयो । त्यो बेलामा आफूले अनुभव गरेको जातिय छुवाछुतको घटनाबाट उनको मनमा विद्र्रोहको स्वर गुन्जियो । उनले जातिय र बर्गिय लडाइको लागि कम्युनिष्ट पाटी रोजे । समाज परिर्वतको यात्रामा होमिएका चालिसे पर्वतका कम्युनिष्ट पाटीका संस्थापक नेता हुन् । वर्गिय लडाईले मात्र सामाजिक परिर्वतन सम्भव छ भन्ने सोचका चालिसेका कपाल सेताम्मे भएर फुलेका छन् । तर उनको मनले फुलेको कपाल, ढल्कदै गरेको बुढयौलीलाई देखेको छैन् । उनको मनमा अझै एक स्वर छ : ‘देशमा सवै कम्युनिष्ट मिल्नुपर्छ, कम्युनिष्ट सरकार बन्नुपर्छ, समाजका सवै वर्गीय र जातीय विभेदको अन्त्य गर्नुपर्छ ।’
२०१५ सालमा आर्थिक जोहोका लागि भारतको आसाम पुगेका चालिसे २०२३ सालमा नेपालमा फर्किए । २०२४ सालमा कुश्मामा होटल ब्यवसाय शुरु गरेका चालिसेले होटल ब्यवसायबाट नै जातिय लडाईको संखघोष गरे । २०२७ सालमा तत्कालीन कम्युनिष्ट पाटीका देता भुपेन्द्र सिंहसंग भेट भएपछि भने चालिसेको जीवनमा राजनीति पनि जोडियो । २०२८ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पाटी पुष्पपाल समूहको चालिसे सदस्य भए ।
२०२८ सालमा झापामा भएको विद्रोहको प्रभाव पर्वतमा पनि पर्यो । ‘चुवा बिद्रोह’मा संग्लन्न सहभागी नभए पनि सहभागी भएको आरोपमा चालिसे लगाएतका २५ जनालाई तत्कालीन सरकारले गिरफ्तार गर्यो । २८ दिन कठोर यातनापछि चालिसे हिरासत मुक्त भए भने ११ जनालाई जेल चलान गरियो । दुई वर्ष तारेख धाएपछि मुद्दाको फैसला हुँदा ६ वर्ष कैद र जनही ९६ हजार रुपियाँ सजायँ तोकियो ।

उता, होटल ब्यवसाय गरीरहेका चालिसेले जेलमुक्त भएपछि आफ्नो होटलमा दलित र गैर दलितका वीचमा सह भोजको आयोजना गरे । तत्कालीन शिक्षामन्त्री हिरालाल विक कुश्मा आएको बेलामा उनले प्रगतिशिल आफ्नो सोच सहभोज मार्फत प्रस्तुत गरे । यस पछि चालिसेको समाज विद्रोहको स्वर थप मुखरित भयो ।
चुवा बिद्रोहको फैसला विरुद्ध पुनरावेदन अदालतमा पुगेका चालिसे सहितका सवै आरोपीहरुले २०३५ मुद्दाबाट सफाई पाए । सोहि बेलामा २०३५ साल तिर तत्कालीन नेकपा मालेको सांगठनीक गतिविधिहरु तीव्ररुपमा विस्तार हुँदै थियो । २०३६ साल असोज ७ गते नेकपा माले पर्वत संगठन कमिटीको चालिसे संस्थापक सदस्य बने । चालिसे सहित कृष्णप्रसाद भट्टराई, गणेश शर्मा पौडेल, विष्णुप्रसाद भट्टराई र बाबुराम शर्मा पौडेल पनि कम्युनिष्ट पाटीको पर्वत जिल्लाका संस्थापक सदस्यहरु रहेका थिए ।
२०४३ मा प्रधानपञ्च र २०४६ मा गाविस उपाध्यक्ष पदमा जनपक्षीय उम्मेदवार बनेका चालिसेले २०४६ सालको जनआन्दोलनमा दुई महिना जेल जीवन विताएका थिए । २०४८ मा नेकपा एमाले जिल्ला कमिटी पर्वतको सदस्य बन्नुभएका चालिसे २०५७ सालसम्म जिल्ला सदस्यको रुपमा रहेका थिए ।
२०५४ सालमा तत्कालीन अवस्थमा नेकपा एमाले पाटीकै निर्णयका आधारमा स्वतन्त्र उमेदवारको रुपमा शिवालय गाउँ विकास समितिको उपाध्यक्ष चालिसे निर्वाचित भए ।
०५७ साल पछि भने एमाले पर्वत जिल्ला सल्लाहकार कमिटीको अध्यक्ष बन्नुभएका चालिसे अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य, एमाले सल्लाहकार परिषद्का केन्द्रीय सदस्य रहेर पार्टी संगठन एवं कम्युनिस्ट आन्दोलन विस्तारमा निरन्तर लागि रहेका छन् ।
२०७० मा गठित सुकुमबासी समस्या समाधान आयोगको जिल्ला अध्यक्षको जिम्मेवारी अनुसार जिल्लाका सुकुमबासीका लागि बासको ब्यवस्था मिलाउन खटिरहेको अवस्थामा नियमावलीसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुग्दा काम वीचमैं रोकिन पुग्यो ।
चालिसे राजनीतिमा मात्र होइन् शैक्षिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । कुश्मामा रहेको तत्कालीन शिवालय प्राथमिक विद्यालय (हालको शिवाल मावि) को संस्थापक अध्यक्ष बन्नुभएका चालिसेले विद्यालयलाई निमावि, मावि, उच्च मावि हुँदै शिवालय बहुमुखी क्याम्पस स्थापना गर्न समेत निरन्तर मेहनत गरेका थिए ।
सदरमुकाम कुश्मा बजारमा खानेपानीको चरम अभाव हुन थालेपछि थालनी गरिएको शिवालय कुश्मा खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्ष समेत बनेर चालिसेले सामाजिक दायित्व निर्वाह गरेका छन् । नेपाल रेडक्रस सोसाइटी र सामुदायिक सेवा समाज पर्वतको आजीवन सदस्य रहनुभएका उनी बडागाउँ चौर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष बनेर वन वातावरणको क्षेत्रमा क्रियाशिल रहेका भए ।
चालिसेको सामाजिक सेवा गर्ने हुटहुटीकै सम्मान स्वरुप पर्वत जेसिजले मानार्थ सदस्यता प्रदान गरेको छ । विसं. २०५५ मा जिल्ला विकास समिति पर्वतले पुराना राजनीतिज्ञको सम्मानमा आयोजित कार्यक्रममा चालिसेलाई सम्मान गरेको थियो । चालिसेलाई अमृत जोशी स्मृति प्रतिष्ठानलगायत पार्टीका विभिन्न मञ्च, क्लब, विद्यालय आदिबाट सम्मान गरेका छन् ।
नेकपा एमाले पर्वत जिल्ला कमिटीको भवन निर्माणार्थ कुश्मामा सात आना जग्गा (यसमध्ये दुई आना जग्गा भाई एकनारायण चालिसेबाट) निःशुल्क प्रदान गर्नुभएको चालिसे कम्युनिष्ट पाटीका जग्गादाता पनि हुन् ।
उमेरले ८ दशक काटेपछि चालिसेको केहि महिना अघि मात्र हिन्दु धर्म अनुसारको बैद्धिक विधि अनुसार चौरासी पुजाको आयोजना गरिएको थियो । परिवारले धार्मिक विधि अपनाए पनि चालिसे धार्मिक प्रथालाई नमान्ने, भौतिकबादी भएका कारण चौरासी पुजालाई उनले ८ दशक उमेर पार गरेको उत्साहको दिनको रुपमा मात्र मनाए । २०८० सालको मंसीर ११ गते चौरासीको हर्ष बढाई गरेका चालिसको जीवनमा त्यसको ३ दिन पछि भने बज्रपात परयो । जीवनसंगीनी भिमकुमारी चालिसेलाई उनले सदाका लागि गुमाए छन् ।
पहिलो वैवाहिक जीवन सफल नभएपछि दोस्रो विवाह गरेका चालिसेले दोस्रो सहारा पनि गुमेको छ । बढेसकालमा सहारा दिने जीवन यात्री नभए पनि चालिसे अझै आफ्नो सिद्धान्तमा विचलीत छैनन् । अचेल गाउँ टोलमा हुने पाटीका कार्यक्रममा सकेसम्म पुग्छन् । कम्युनिष्ट विचारलाई पर्वत जिल्लामा स्थापीत गराउन चालिसेको महत्वपूर्ण योगदान र भूमिका छ । वर्गिय चिन्तन र समाज परिर्वतनको यात्रामा चालिसेको दैनिक अचेल कम्युनिष्ट विचार, चिन्तन र भावनालाई जागृत गराउनमै वित्ने गरेको छ ।




