Print

विद्यार्थी संख्याका आधारमा सामुदायिक विद्यालयहरु मर्ज गर्नुपर्छ : प्रमुख सचेतक गिरी


१७ माघ, पर्वत । एमाले प्रमुख सचेतक पदम गिरीले सामुदायिक विद्यालयहरुमा विद्यार्थी घट्दै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् । पर्वत जिल्लाको पूर्णेश्वर माविको ६३ औं बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सांसद गिरीले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको प्रति चिन्ता ब्यक्त गरेका हुन् ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गिरीले विद्यालयहरुमा निरन्तर विद्यार्थी घट्दै जाँदा विद्यालय सञ्चालनमा समस्या हुने गरेको उल्लेख गरे । विद्यालयमा गुणस्तरीय शिक्षा ब्यवस्थापन गरी विद्यालयहरुलाई मर्ज गरेर भए पनि सामुदायिक विद्यालयहरुको ब्यवस्थापन गरिनुपर्ने कुरामा गिरीले जोड दिए ।

ग्रामीण क्षेत्रहरुमा रहेका कतिपय सामुदायिक विद्यालयहरुमा निकै कम मात्र विद्यार्थीसंख्या हुने गरेको भन्दै त्यस्ता विद्यालयहरुलाई मर्ज गरेर भए पनि विद्यार्थीलाई गुणस्तरीय र सुविधायुक्त सेवा दिनुपर्ने गिरीको भनाई छ ।

वर्तमान शिक्षा प्रणालीमा अंग्रेजी माध्यमको अध्यापनमा विद्यार्थीको आकर्षण हुने गरेका कारण सरकारी विद्यालयहरुले पनि अंग्रेजी माध्यमको अध्यापनलाई प्राथमिकता दिएर विद्यार्थीको भर्नादर बढाउनुपर्ने गिरीको सुझाब छ ।

गिरीले देशमा स्वास्थ्य, शिक्षा सरकारले निशुल्क गर्नुपर्ने धारणा राख्दै शिक्षा क्षेत्र नेपालमा निकै महंगो बन्दै गएको बताए । नीजि क्षेत्रले सञ्चालन गरेको शिक्षालयहरुमा निकै महंगो शुल्कमा विद्यार्थीले अध्ययन गर्नपर्ने बाध्यता रहेको गिरीको भनाई छ ।