Print

कुश्मा बजारमा सञ्चालीत दुई सामुदायिक क्याम्पस मर्ज हुँदै

१४ पौष, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई सामुदायिक क्याम्पसको मर्ज प्रक्रिया शुरु भएको छ । कुश्मा बजारमा सञ्चालीत बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस आपसमा मर्ज हुन लागेका हुन् ।

क्यापसहरूमा विद्यार्थी संख्या निरन्तर घट्दै जाने तर क्याम्पसहरुको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जान थालेपछि एकीकरण गर्न थालिएको गुप्तेश्वर बहुमुखि क्याम्पस संचालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिएको खबर लोकतन्त्र अनलाईनले प्रकाशन गरेको छ ।

दुवै क्याम्पसका सञ्चालक समितिहरुले क्याम्पसलाई एकिकरण गरी एक सवल, परिस्कृत, आधुनिक र एकिकृत क्याम्पस स्थापना गर्न आवश्यक रहेको महशुस गरी एकिकरण प्रकिया अगाडि बढाउन सहमत भएका छन् । उनिहरुले पव्लिक क्याम्पस संघ, पर्वतका अध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा दुवै क्याम्पसका अध्यक्षहरू बसन्तकुमार कर्माचार्य र हरीओम शर्मा लामिछाने तथा क्याम्पस प्रमुखहरु सुभाष पन्त र लेखनाथ उपाध्याय रहेको ५ सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलले गत ६ महिना देखि शुरु गरेको अध्ययन र सहकार्यहरुवाट तयार भएको एकिकरण दस्तावेजको आधारमा दुवै क्याम्पसलाई एकिकरण प्रकृया टुंगोमा पु¥याउने भएको छ । वैठकले ५ सदस्यीय कार्यदलको विस्तार गरी १३ सदस्यीय अधिकार सम्पन कार्यदल गठन गरी ६ बुँदा रहेको कार्यादेश स्विकृत गरेको छ भने आगामी माघ १६ गते भित्र दुवै क्याम्पसले आ–आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरी एकिरणको प्रस्तावलाई अनुमोदन गर्ने निणर्य भएको छ ।

अहिले गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर सहित २ सय ६२ र शिवालय बहुमुुखि क्याम्पसमा २६८ जना विद्यार्थी रहेका छन् । गुप्तेश्वर बहुमुखी क्याम्पस २०४८ सालदेखि सञ्चालनमा छ भने शिवालय बहुमुखी क्याम्पस २०६७ सालमा स्थापना भई सञ्चालनमा रहेको छ ।

पर्वत जिल्लाभर १२ वटा क्याम्पस संचालनमा रहेका छन् । जिल्ला सवैजसो क्याम्पसहरुमा विद्यार्थीको संख्या न्यून छ । बिद्यार्थीको संख्या न्यून हुँदा ति क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेका छन् ।