१४ पौष, पर्वत । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले युवालाई रोजगारी होइन सरकारले गोलीको उपहार दिएको टिप्पणी गरेका छन् ।
शनिवार देखि शुरु भएको १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मामा उद्घाटन गर्दै गिरीले सरकारले युवालाई स्वदेशमै रोजगारी दिने योजना सार्वजनिक गर्नुको सट्टा रोजगारीका लागि विदेश जान्छु भन्दा गोली बर्षाएको भन्दै आक्रोस ब्यक्त गरे ।
कोरिया भाषा परिक्षा दिनुपाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका युवाहरु माथि सरकारले अन्धाधुन्ध गोली बर्षाएको भन्दै गिरीले स्वदेशमा रोजगारीको ग्यारेन्टी नभएसम्म युवा पलाएन अझै बढ्ने बताए । उनले युवालाई गाली हान्ने सरकारको कामको निन्दा गर्दै खेलकुदको क्षेत्रबाट युवाहरुले देशलाई विश्व बजारमा चिनाईरहेको बताए ।
गिरीले नेपालको शिर विश्वसामु उचो बनाउन सफल खेलाडीहरु नै भएको बताउँदै तीनै तहका सरकारले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
बिद्यालय तहदेखिनै खेलाडी उत्पादन गर्न सकेमा भविष्यमा नेपाल खेलकुद खेल पर्यटनवाटै विश्वमा परिचिति हुने उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी लगायतले बोलेका थिए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन साजन श्रेष्ठले गरेका थिए ।
शनिवार र आईतवार संचालन हुने प्रतियोगितामा जिल्लाका सातवटै पालिकामा संचालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट बनेका सयौ खेलाडीहरु सहभागि छन् । जसमा छात्र तथा छात्रा भलिवल, दौड तथा एथलेटिक्सका खेलहरु हुने भएका छन् ।