Print

प्रचण्ड सरकारको कामलाई १० अंक मात्रै दिन्छु : महामन्त्री थापा


१ पुष, पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई १ सय पूर्णाङमा १० अंक मात्र दिने बताएका छन् । सरकारले राम्रोसंग काम गर्न नसकिरहेको उल्लेख गर्दै उनले सरकारको कामलाई १० भन्दा धेरै अंक दिन नमिल्ने बताएका हुन् ।

नेपाली कांग्रेस क्षेत्रीय सम्मलेलनको उद्घाटनका लागि पर्वतको कुश्मामा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशका तमाम समस्याहरु समाधान गर्न सरकार सक्षम नभएको उल्लेख गरे ।

उनले विदेश पलाएन र जनताहरुको निराशालाई सरकारले नै सम्बोधन गर्नुपर्ने तर्क समेत ब्यक्त गरे । सरकारले यहि गतिमा काम गरे अर्को बर्ष ८ अंक मात्र दिनुपर्ने भन्दै सरकारले ८० अंक ल्याउनु गरी काम गर्नुपर्ने सुझाब दिए ।

निर्वाचन सम्बन्धि कानूनमा अवका निर्वाचनहरुमा राष्ट्रिय दलले गठबन्धन गर्न नपाउने गरी कानून ल्याउनुपर्ने तर्क गर्दै पूर्व मन्त्री समेत रहेका थापाले कानून बनाउँदा एमाले र कांग्रेस एकै ठाउँमा उभिनुपर्ने धारणा राखे । उनले निर्वाचनमा गरिने गठबन्धनले देशलाई र पाटीलाई फाइदा नपुगेको समेत तर्क ग रे ।

महामन्त्री थापाले प्रत्येक हप्ता केहि न केहि नयाँ आर्थिक काण्डहरु सार्वजनिक भईरहेको भन्दै जनतामा चरम निराशा छाएको बताए । नागरिक उपचार गर्न नपाएर मर्न बाध्य भइरहेको बेलामा अर्बौ रुपैंया भ्रष्टचार हुने गरेका काण्डहरु सार्वजनिक भएका कारण पनि जनतामा चरम निराशा छाएको उनको भनाई थियो ।

अर्को एक प्रशंगमा महामन्त्री थापाले २०४८ साल देखिका उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ति छानवीन गरी गैरश्रोतबाट आम्दानी भएको रकमले स्वास्थ्य बिमा मार्फत जनतालाई निशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने विचार ब्यक्त गरे । उनले वर्तमान स्वास्थ्य बिमाको नीति आफूले चाहे बमोजीमको नभएको भन्दै आर्थिक अवस्थाका आधारमा प्रिमियम रकम उठाउने र नागरिकले स्वास्थ्य उपचारको सवै रकम शुल्क नतिरी प्राप्त गर्नुपर्ने कुरा उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य अर्जुन जोशी, गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द जोशी, कांग्रेस पूर्व जिल्ला सभापतिहरु नवराज गुरुङ, खिमप्रसाद भुषाल लगाएतले शुभकामना ब्यक्त ब्यक्त गरेका थिए ।