Print

लम्की स्किन रोगबाट पर्वतमा ७० पशुको मृत्यु, ३५ सय ८८ संक्रमीत

३० असार, पर्वत । लम्की स्किन रोगबाट पर्वतमा ७० गाई गोरुको मृत्यु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका अनुसार लम्की स्किन रोगबाट पर्वत जिल्लाका विभिन्न वडाहरुमा हिजो शुक्रबारसम्म ७० वटा पशुहरुको मृत्यु भएको तथ्यांकमा देखिन्छ । उक्त रोगबाट ३४ सय ८८ पशुहरु संक्रमीत भएको विज्ञ केन्द्रका प्रमुख रामजी प्रसाद पौडेलले जानकारी दिए ।

रोग नियन्त्रणका लागि पैयू र विहादीले सवै जसो पशुहरुमा यस अघि खोप लगाईसकेका थिए । कुश्मा र महाशिला गाउँपालिकाले भने बजेटको ब्यवस्थापन नगर्दा खोप लगाउने पशुहरुको संख्या छुटेको थियो । खोप नलगाएका कारण कुश्मा र महाशिलाका पशु चौपायहरु सवैभन्दा धेरै प्रभावित भएका छन् । जलजला मोदी र फलेवासले खोप कार्यक्रम अघि बढाएका कारण त्यहाँका पशु चौपाय संक्रमित भए पनि संख्या केहि कम देखिएको विज्ञ केन्द्रले जनाएको छ ।

पछिल्लो समयमा कुश्मा र महाशिला बाहेकका वडाहरुमा कृषकले पालिरहेका पशुहरुमा देखिएको संक्रमण दर घट्दै गए पनि कुश्मा नगरपालिकामा संक्रमण दर घटेको छैन् । असारको बेलामा धान रोप्ने बेलामा गोरुहरु विरामी पर्दा कृषकहरुले भने धान रोप्न पाएका छैनन् । कतिपय स्थानमा खोप लगाएका पशुहरुले केहि दिन बारीमा खनजोत गर्न नसक्ने भएका कारण पनि रोपाई प्रभावित भएको छ ।

लम्की स्किन रोगले देश भरीका पशु चौपाय प्रभावित गरेपछि शुक्रबार मात्रै प्रतिनिधि सभामा यो विषयले प्रवेश पाएको थियो । पर्वत जिल्लाबाट निर्वाचित सांसद पदम गिरीले रोग नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए । उनले सरकारसंग पैसा छैन भने, पूर्वाधार क्षेत्र विकास कार्यक्रमको पैसाबाट खर्च गरेर भएपनि रोग नियन्त्रणको लागि खोपको प्रवन्ध गर्नुपर्ने धारणा राखे ।

सरकारले भने समयमा खोप उपलब्ध नगराउँदा कयौ पशुपालक कृषकहरु मर्कामा परेका छन् ।