Print

३० बर्षमा २७ हजार घट्यो पर्वतको जनसंख्या


२३ असार, पर्वत । विगत ३ दशकमा पर्वतको जनसंख्या २६ हजार ९ सय ३९ अंकले घटेको छ । विगत दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको देखिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस १.०९ प्रतिशत बृद्धिद्धर रहेको बताए ।

पछिल्ला तीन पटक भएका जनगणनाको तथ्याङ्कलाई हेर्दा हरेक पटकको गणनामा जनसङ्ख्या घट्दै आइरहेको देखिएको छ ।
२०५८ सालमा १ लाख ५७ हजार ८ सय २६ रहेकोमा २०६८ सालमा १ लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो ।
२०७८ सालको गणनामा भने झनै घटेर १ लाख ३० हजार ८ सय ८७ कायम भएको छ ।

वृद्धिदर हेर्दा २०५८ सालमा ०.९५ प्रतिशत वृद्धिदर रहेकोमा २०६८ मा ०.७४ प्रतिशत रहेको रहेको थियो ।

जनसङ्ख्या कम भएसँगै जनघनत्व पनि घटेको छ । प्रति वर्ग किलोमिटरमा २०५८ मा तीन सय १९, २०६८ मा दुई सय ९७ र २०७८ मा २ सय ६५ जना बसोबास गरेको देखिएको छ ।

सात ओटा स्थानीय तह रहेको पर्वतमा ती सबै स्थानीय तहको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको छ । बिहादी गाउँपालिकामा सबैभन्दा धेरै ऋणात्मक २.०५ तथा जलजला गाउँपालिकामा ऋणात्मक ०.१५, कुश्मा नगरपालिकामा ऋणात्मक ०.३७, महाशिला गाउँपालिकामा ऋणात्मक १.८७, मोदी गाउँपालिकामा ऋणात्मक १.१९ र फलेवास नगरपालिकामा ऋणात्मक १.८० प्रतिशत रहेको छ ।

२०७८ सालको तथ्याङ्क अनुसार बिहादीमा १० हजार आठ सय २८, जलजलामा २१ हजार एक सय १९, कुश्मामा ३८ हजार एक सय एक, महाशिलामा आठ हजार एक सय ३६, मोदीमा १८ हजार सात सय ९४, पैयुँमा १२ हजार सात सय ७५ र फलेवासमा २० हजार चार सय ६८ जनसङ्ख्या रहेको छ ।

होस्टल, इन्स्टिच्युट वा ब्यारेकमा बस्दै आएकाहरूलाई संस्थागत जनगणना भनी राखिएको छ । पर्वतमा त्यस्तो जनसङ्ख्या ९ सय २३ रहेको देखिएको छ ।

जिल्लामा पुरुषको कुल सङ्ख्या ६१ हजार छ सय ७८ र महिलाको सङ्ख्या ६९ हजार दुई सय नौ रहेको छ । तथ्याङ्क सहायक पौडेलका अनुसार जिल्लामा कुल परिवार सङ्ख्या ३६ हजार १ सय ३७ रहेको पाइएको छ भने परिवारको औसत आकार (परिवारमा सदस्य सङ्ख्या) ३.६२ देखिएको छ ।

तर २०६८ सालको गणनामा परिवारको औसत आकार ४.१ रहेको थियो । यो तथ्याङ्कले सन्तान कम जन्माउने वा संयुक्त परिवार भन्दा एक्ल परिवारमा बस्ने रुचाउनेहरूको सङ्ख्या बढी भएको देखिएको छ ।

जिल्लाका ३६ हजार १ सय ३७ परिवारमध्ये ११ हजार ७ सय ७२ ओटा परिवारबाट कम्तीमा पनि एक जना विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । ती परिवारबाट दुई हजार ती सय ३२ जना महिला र १४ हजार एक सय १४ जना पुरुष गरी कुल १६ हजार चार सय ४६ जना वैदेशिक रोजगारीमा रहेको देखिएको छ ।

यस्तै ४ हजार २ सय ५९ जनामा अपाङ्गता रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क अनुसार पाँच वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसङ्ख्याको साक्षरता प्रतिशत देशभरमा ७६.२ प्रतिशत रहेकोमा पर्वतमा भने ८०.१२ प्रतिशत रहेको छ ।
राष्ट्रिय रूपमा हेर्ने हो भने पनि २०७८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर घटेको पाइएको छ ।

२०५८ सालमा २.२५, २०६८ सालमा १.३५ वृद्धिदर रहेकोमा २०७८ मा ०.९२ प्रतिशत रहेको छ । तर राष्ट्रिय रूपमा पनि जनघनत्व बढ्दै गएको छ । प्रति वर्ग किलोमिटरमा बसोबास गर्नेहरूको सङ्ख्या २०५८, २०६८ र २०७८ मा क्रमशः एक सय ५७, एक सय ८० र एक सय ९८ रहेको छ ।