१५ वैशाख, पर्वत । जिल्लाको विहादी गाउँपालिकाको चैत मसान्तसम्मको पुँजीगत खर्च ३१ प्रतिशत मात्र भएको छ । गाउँपालिकाको आयोजना गरेको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
पुँजीगत तर्फ कुल बजेट १८ करोड ७१ लाख ९५ हजार रुपैंया मध्ये चैत मसान्तसम्म कुल ३१ प्रतिशत मात्र खर्च भएको हो । प्रमुख प्रशासकीय अधिकृतका अनुसार चैत मसान्तसम्म कुल ५ करोड ७९ लाख ६६ हजार ९ सय ५३ रुपैंया मात्र खर्च भएको छ । आगामी ३ महिनामा १२ करोड ९२ लाख २८ हजार ४६ रुपैंया खर्च हुनुपर्ने देखिन्छ ।
गाउँपालिकाका केहि समय प्रमुख प्रशासकीय अधिकृतको पद खाली हुँदा बजेट खर्चमा दवाव सृजना भएको देखिन्छ । कतिपय आयोजनाहरु सम्पन्न भएका तर भुक्तानी लिन नआएका कारण पनि कुल खर्च रकम कम देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
गाउँपालिकाको कुल रकम मध्ये चालु तर्फ ६२ प्रतिशत खर्च भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडाराज शर्माका अनुसार कुल २९ करोड ५१ लाख ३५ हजार मध्ये चैत मसान्तसम्म १८ करोड २५ लाख ४९ हजार ७५ रुपैंया मात्र खर्च भएको हो । गाउँपालिकाले बाँकी ३ महिनामा कुल ११ करोड २५ लाख ८५ हजार ९ सय २४ रुपैंया खर्च गर्नुपर्नेछ ।
विहादी गाउँपालिकाका चालु आर्थिक बर्षको कुल बजेट ४८ करोड २३ लाख ३० हजार रुपैंया रहेको छ । गाउँपालिकाको कुल खर्च प्रतिशत भने ५० प्रतिशत भएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले आयोजनाहरु समयमै सम्पन्न गर्न र समयमा भुक्तानीका लागि आउन आग्रह गरिएको जानकारी दिए । उनले भुक्तानीका लागि उपभोक्ता समितिहरुले समयमै काम सक्ने गरी योजना बनाउन समेत ताकेता गरिएको जानकारी दिए ।




