Print

पर्वतमा ४ वटा मोटरेवल पुलको निर्माण प्रक्रिया अझै शुरु भएन


२५ फागुन, पर्वत । विकास निर्माणको द्रुत गतिमा अघि बढिरहेको पर्वत जिल्लाको विकास निर्माणका कामहरु केहि समय देखि भने मन्द गतिमा अघि बढेका छन् । सरकारको नीतिगत समस्या तथा देशको आर्थिक अवस्थाका कारण पनि जिल्लाको विकास अयोजनाहरु प्रभावित भएका हुन् ।

जिल्लाका ४ वटा महत्वपूर्ण स्थानहरुमा मोटरेवल पुल निर्माण गर्ने यस अघि नै सरकारले निर्णय गरे पनि हालसम्म पनि ति स्थानहरुमा मोटरेवल पुलको निर्माण प्रक्रिया शुरु हुन सकेको छैन् । कालीगण्डकी र मोदी खोलामा निर्माण हुने मोटरेवल पुलको निर्माण कामले गति लिन नसक्दा यी स्थानहरुमा सवारी आगमन तत्काल सुचारु हुने नदेखिएको हो ।

बहुप्रतिक्षित माझफाँटको बगरफाँट देखि वेनी बजार जोडने मोटरेवल पुलको टेण्डर यस बर्ष पनि आब्हान नहुने देखिएको छ । यस स्थानमा अस्थायी रुपमा बेलिव्रीज निर्माण भने थालिएको छ । पक्कि मोटरेवल पुल निर्माणको लागि ठेक्का आब्हान भने अझै भएको छैन् । सडक विभागका इन्जिनियर नरेन्द भट्टका अनुसार अर्थ मन्त्रालयको नयाँ आयोजना शुरु नगर्ने परिपत्रका कारण उक्त पुलको निर्माण प्रक्रिया यस बर्ष पनि नहुने भएको छ । सोहि परिपत्रकै कारण कल्लेरीघाट मोटरेवल पुलको काम पनि रोकिएको छ । उक्त पुलले कुश्मा र बलेवालाई सडक सञ्जाल मार्फत जोड्नेछ ।

यसैगरी पटक पटक बजेट विनियोजन भए पनि निर्माण कार्य शुरु नभएको कुश्मा बजार र ज्ञादी क्षेत्रलाई जोड्ने झाप्रेबगर मोटरेवल पुलको काम अझै पनि शुरु भएको छैन् । झाप्रेबगर मोटरेवल पुलको निर्माण कार्यको लागि डिजाइन स्टिमेट फाइनल भए पनि विभागले अझै पनि ठेक्का आब्हान गरेको छैन् । सडक विभागका कार्यालयका इन्जिनियर लोमस उपाध्यायले सवै प्रक्रिया पुरा भएको र टेक्का आब्हानको काम बाँकी रहेको बताउँछन् ।

उता, मोदीखोलामै निर्माण हुने आम्बोट मोटरेवल पुलले मोदी ६ गिज्यानलाई प्रत्यक्ष फाइदा मिल्नेछ । उक्त पुलको पनि डिजाइन स्टिमेट फाइलन भए पनि ठेक्का प्रक्रिया अझै शुरु भएको छैन् । विभागका इन्जिनियर विजय वनका अनुसार ठेक्का प्रक्रियाको लागि फाइल तयार भएको तर निर्माण प्रक्रियाको लागि ठेक्का आब्हान भएको छैन् ।

जनप्रतिनिधिहरु र स्थानीयबासीको निरन्तरको दवावका बाबाजुद पनि तत्काल निर्माण गर्नुपर्ने र पटक पटक बजेट पुस्तिकामा परेका ४ वटा पुलहरुको निर्माण प्रक्रिया अझै निश्चित भएको छैन् ।

यसै वीच सरकारले दोविल्ला स्थित मोदी खोला मोटरेवल पुलको यस बर्ष देखि सर्वेक्षण कार्य अघि बढाएको छ । यस अघि निर्माण भएको दोविल्ला स्थित सस्वेन्सन व्रिजलाई विस्थापीत हुने गरी निर्माण हुने मोटरेवल पुलको पूर्व सम्भाब्यता अध्ययन कार्य शुरु भएको छ ।

यस बाहेक जिल्लाको मोदी गाउँपालिका स्थित भुरुङदीखोलाको पुल विगत ७ बर्ष देखि अलपत्र अवस्थामा छ । निर्माण कार्य शुरु भएको उक्त पुल हालसम्म पनि सम्पन्न भएको छैन् ।