९ मंसिर, पर्वत, । प्रतिनिधि सभामा पर्वतबाट पदम गिरीले दोस्रो पटक निर्वाचन जितेका छन् । ५ बर्ष अघि कान्छो सांसदको रुपमा संसद भवन भित्र छिरेका गिरी नेकपा एमालेका केन्द्रिय सदस्य हुन् ।
नेकपा एमालेमा कान्छो जिल्ला अध्यक्षको रुपमा तत्कालिन अवस्थामा चिनिएका गिरी सानो उमेरमै प्रत्यक्ष निर्वाचन लडेर प्रतिनिधि सभामा छिर्ने तत्कालीन सांसदहरुको भिडमा परिचित बनेका थिए । ५ बर्ष अघि १२ हजार ८ सय मतान्तरले प्रतिस्पर्धीलाई पराजय गराएका गिरीले दोस्रो पटक २ हजार २ सय मतान्तरले पुनः प्रतिस्पर्धीलाई पराजीत गर्दै प्रतिनिधि सभाको यात्रा तय गरेका छन् ।
कान्छो उमेरमा सांसदको कार्यकाललाई थप निखारता ल्याएका गिरीले संसद भूमिका रहँदा पनि राष्ट्रिय रुपमा चर्चा कमाईरहे । पाटीको दशौं महाधिवेशन पछि केन्द्रिय सदस्यमा मनोनित गिरीले पर्वतबाट दुई पटक नै कांग्रेसका अर्जुन जोशीलाई पराजीत गरेका हुन् । पर्वतबाट ३ पटकसम्म प्रतिनिधि सभामा निर्वाचन जितेका कांग्रेसका जोशीलाई दोस्रो पटक हराएर जोशीको पाँचौ पटकको प्रतिनिधि सभा प्रवेश गर्ने बाटो गिरीले बन्द गरिदिएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापति हुँदा नै युवा विद्यार्थीहरु माझ चर्चित बनेका गिरी पर्वत जिल्लामा पाटीको एक कार्यकाल जिल्ला सदस्य बने लगतै अर्को कार्यकाल जिल्ला अध्यक्ष बनेका थिए । जिल्ला अध्यक्ष रहेकै बेला उनी प्रतिनिधि सभाको सदस्य बने । अहिले पाटीको केन्द्रिय सदस्य छन् ।
पाटी सरकारमा जाने अवस्थामा उनी विभागीय मन्त्रीको दावीमा छन् । ‘युवा पुस्ताको नविन सोचले समाज बदल्ने अठोट लिएको छु ।’ निर्वाचन जितेपछि गिरीले भने ‘पर्वतलाई सम्बृद्ध जिल्ला बनाउने र देशलाई आत्मनिर्भरताको बाटोमा लैजाने मेरो योजना छ ।’
गिरीले ५ दलिय गठबन्धनका उमेदवारलाई पराजीत गरेका हुन् । निर्वाचनमा कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चा र जसपाको संयुक्त गठबन्धन थियो ।




