पर्वत, १६ कार्तिक । निर्वाचन कानून उल्लघन भएपछि कांग्रेस नेता तथा प्रतिनिधि सभाका उमेदवार अर्जुन जोशीलाई निर्वाचन आयोगले स्पटीकरण मागेको छ । जोशीले निर्वाचनलाई प्रभावित गर्नका लागि आयोगले जारी गरेको कानूनको उल्लघन गरेको भन्दै आयोगले स्पटीकरण मागेको हो ।
आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जोशीलाई पर्वतको पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ । जोशी सहित विभिन्न क्षेत्रका ६ जनालाई आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।
जोशीले कुश्मा नगरपालिका–१४ आर्थरस्थित विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीहरूलाई कपि कलम वितरण गरेर अभिभावकहरूलाई प्रभावित गर्न कोशिस गरेको भन्ने समेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ ।
आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ ।
निर्वाचन प्रभावित पार्नका लागि जोशीले कांग्रेसबाट विजयी स्थानीय तहका पदाधिकारीहरुलाई पनि प्रयोग गर्ने गरेका छन् । आचारसंहिता उल्लघन गरी जोशीको प्रचारमा हिडेका जलजला गाउँपालिकाका अध्यक्ष राजु पौडेल र कुनपा ९ का वडा अध्यक्ष रामशर्मा लामिछानेलाई पनि स्पटीकरण सोधेको छ ।
आयोगले नारायण माविका शिक्षक सुभन्तराज सुवेदी, भूमि आयोगका पर्वत अध्यक्ष उदय सुवेदीलाई पनि स्पटीकरण सोधेको छ ।




