Print

धाइरिङ घटना : कर्मचारीलाई छानवीन गरी कारबाही गरिने, मृतकको परिवारलाई रोजगारी दिईने

२५ साउन, पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सोमबार ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा भएको घटना प्रति छानवीन हुने भएको छ । कर्मचारीको लापरवाहीका कारण घटना घटेको स्थानीयले आरोप लगाएपछि डिउटीमा रहेका कर्मचारी माथि छानवीन गरिने भएको हो ।

सोमबार बिहान धाइरिङको धारापानी, ठूलास्वाँरा, माझस्वाँरा र शिरुवार क्षेत्रमा टाँगिएको विद्युतीय लाइन ‘हाइ भोल्टेज’ को विद्युत् प्रवाह हुँदा ५० वर्षीया सीता केसीको मृत्यु भएको थियो भने अरू ११ जना घाइते भएका थिए । ‘करेन्ट’ मा परेर स्थानीयले पालेका ११ वटा बाख्रा मरेका थिए ।

मंगलबार नै प्रतिनिधि सभाको वैठकमा सांसद पदम गिरीले घटनाको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।

पर्वतको धाइरिङ घटनाका पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारसँग सांसद गिरीको माग

मंगलबार नै जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा सहित नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोशली, जलजला गाउँपालिकाका जनप्रतिनिधिहरू, पीडित परिवारका व्यक्तिहरू लगायतको उपस्थितिमा भएको छलफलले कर्मचारी माथि छानवीन गर्ने लगाएतका ७ बुँदे सहमती भएको छ ।

सहमती अनुसार ‘करेन्ट’ लागेर मृत्यु भएकी सीताको परिवारका तर्फबाट एकजनालाई ज्यालादारीमा पर्वत वितरण केन्द्रले रोजगारी ‘ग्यारेन्टी’ गर्ने निर्णय भएको छ । प्रावधानमा ‘करेन्ट’का कारण मानवीय क्षति भएमा पाँच लाख रुपैयाँ उपलब्ध गराउने भनिए पनि पीडित पक्षले त्योभन्दा बढी माग गरेका कारण घटनाको अध्ययन तथा समाधानका लागि प्रदेशबाट आउने समितिलाई पाँच लाखभन्दा बढी रकम उपलब्ध गराउन सिफारिस गर्ने सहमति भएको छ ।

धाइरिङ अपडेट : विद्युत पोलमा आगो लाग्यो तर विद्युतका कर्मचारीले फोन उठाएनन्

घाइते भई अस्पतालमा उपचाररत ११ जनाको उपचार खर्च विद्युत्ले नै बेहोर्ने, क्षति भएका मिटर पर्वत वितरण केन्द्रले जडान गरिदिने तथा जलेका ‘वायरिङ’ हटाएर नयाँ बनाउने काम पनि विद्युत् प्राधिकरणले गर्ने भएको छ ।

यस्तै प्रदेशबाट समिति निर्माण गरेर पशु चौपायामा भएको क्षतिबारे उपयुक्त रकमको सिफारिस गर्ने बैठकमा सहमति भएको छ ।

पर्वतका धाइरिङमा विद्युतको हाइभोल्टेजका कारण १ जनाको मृत्यु, ४ जना गम्भिर घाइेत

अहिलेसम्म म्याग्दी जिल्लाको ‘लाइन’सँग जोडिएर प्रसारण भएको विद्युत्लाई काटेर जलजला गाउँपालिकाको लागि छुट्टै फिडर निर्माण गरेर विद्युत् वितरण गर्ने, पर्वतको मिलनचोकमा ‘नो लाइट’ अफिस निर्माण गरेर चौबीसै घण्टा त्यहीँ रहने फोन सम्पर्कमा रहने गरी स्थायी कर्मचारीको व्यवस्थापन गर्ने कुरामा पनि सहमति भएको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिएका छन ।