Print

बिहेकै दिन विदेशीलाई नागरिकता दिने विधेयक ल्याउनु गलत हो : सांसद गिरी

६ साउन, पर्वत । नेकपा एमालेका सांसद पदम गिरीले नेपालीसँग बिहे गरेकै दिन विदेशीलाई नागरिकता बाँडिदा नेपाल फिजीको बाटोमा जाने बताएका छन् ।

सरकारले संसदमा पेश गरेको नागरिकता कानुनसम्बन्धी विधेयकमाथिको छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

‘संसदीय समितिमा छलफल गरेर ल्याएको विधेयकलाई लत्याइएको कारण अहिले खुल्दैछ। सरकारको एउटै उद्धेश्य रहेछ, अंगिकृत वैवाहिक नागरिकता प्रदान गर्ने’, उनले भने, ‘विवाह भएकै दिन विदेशी महिलालाई नागरिकता दिने उद्धेश्य नै रहेछ सरकारको ।’

उनले संसारभरका उदाहरण दिँदै नेपालले गर्न खोजे जस्तो प्रावधान कहीँ नभएको बताएका छन्। ‘भारतमा पनि नागरिकता लिन विदेशीले निरन्तर सात वर्ष बस्नुपर्ने प्रावधान छ। बेलायत र अमेरिकामा पाँच वर्ष छ। साउदी अरेबियामा पनि ५ वर्ष छ’, उनले भने, ‘विवाह भएकै दिनमा नागरिकता दिनुपर्छ देशको हितमा छ भनिएको छ। कसैलाई भोट बैंक बनाउन राजनीतिक स्वार्थ पूरा गर्न, नेपालीलाई अल्पमतमा पारेर देशलाई फिजीकरण गर्न यो ल्याइएको छ।’

उनले विवाह गरेर ल्याएका विदेशी चेलीहरुलाई आर्थिक सामाजिक अधिकार दिन र जागिरका लागि बाटो खोलिदिन सकिने बताए ।

‘सात वर्षमा नागरिकता दिने कुरालाई सबैले मनन् गरौँ’, उनले भने, ‘नेपाल अहिले पो गरिब छ। कुनै बेला धनी हुँदा त्यतिबेला विदेशी चेलीहरु लाइन लागेर बिहे गरेर आउँछन् । अनि हामी नेपाली अल्पमतमा पर्यौँ भने के गर्ने ’