Print

कुश्मा बजार चिनाउने यो तस्विर सामाजिक सञ्जालमा भाइरल

१४ असार, पर्वत । पछिल्लो समय पर्वत जिल्ला र विशेषगरी कुश्मा बजार देश भर चर्चामा छ । केहि बर्ष अघिसम्म अग्ला पुलहरुले चिनिएको पर्वत यति बेला साहसिक खेलहरुका कारण चर्चामा छ । साहसिक खेलका पारखीहरुका लागि उत्कृष्ट गन्तब्य बनिरहेको पर्वत सदरमुकाम कुश्मा बजार आफैमा रमणीय र सुन्दर बजार हो । दुई पवित्र नदीहरु कालीगण्डकी र मोदी खोलाको दोभानमा रहेको कुश्मा बजारलाई यस अघि चर्चा र परिचर्चा गर्ने उल्लेख्नीय विषयहरु थिएनन् ।

पहिलो पल्ट नेपालकै अग्लो पुल कुश्मा ज्ञादी पुल बनेपछि पुलका कारण कुश्मा बजार केहि हदसम्म चर्चामा रह्यो । अग्ला पुलहरु थपिँदै गए, बडागाउँ मुडिकुवा जोड्ने पुल, बडागाउँ कैया जोड्ने पुलका कारण कुश्मामा आन्तरीक पर्यटकहरुको आकर्षण थप बढ्यो । पछिल्लो समय बन्जी जम्म र जीप लाइनका कारण पनि कुश्मा चर्चामा छ । द क्लिप र हार्नेस नामक दुई कम्पनीले विभिन्न साहसिक खेलहरु सञ्चालन गरेका कारण यी खेलहरु खेल्नका लागि कुश्मा बजारमा आउने आन्तरीक पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

कालीगण्डकी नदीको खोचमा सञ्चालीत यी खेलसंगै यहाँ सञ्चालीन यान्त्रिक मोडलको तुईन  पनि आकर्षण स्थल हो । उता, सिजनमा हुने रयाफटिङमा समेत कालीगण्डकी नदी प्रख्यात छ ।

यहि वीचमा पर्वतको कुश्मा बजारको सवै क्षेत्र नै एक क्लिकमा समेटेर फोटो ग्राफर बसन्त पौडेलले एउटा तस्विर सार्वजनिक गरेका छन् । जुन तस्विर अहिले सामाजिक सञ्जालका भित्ताहरुमा भाइरल बनेको छ ।

झण्ड हेर्दा स्विजरल्याडको कुनै वस्ती जस्तो देखियो यो तस्विर ड्रोन सुटबाट फोटो ग्राफर पौडेलले खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । उनले यो तस्विर सार्वजनिक गरेपछि जिल्ला उच्च पदस्थ ब्यक्ति देखि धेरै ठूलो संख्यामा सामाजिक सञ्जाल चलाउनेहरुले यो तस्विर शेयर गरेका छन् ।

कुश्मा बजारका सवै भाग, कालीगण्डकी नदी र मोदी खोलाको स्पष्ट भाग देखिने यो तस्विरमा कुश्मा बजार भित्रका सवै झोलुंगे पुल, बन्जी र जिप लाईन समेतलाई एक क्लिकमा देख्न सकिन्छ । बजारको उत्तर क्षेत्रको वस्ती देखि मोदीवेणी घाटसम्मको सवै बस्ती देखिने यो तस्विर पछि कुश्मा बजारमा सुन्दरता थप पुष्टि भएको छ ।