१० वैशाख, पर्वत । कुश्मा नगरपालिका ७ का जनप्रतिनिधीले पाँच वर्षको अवधिमा गरेका कार्यहरुको सूचिसहित श्वेतपत्र जारी गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजयी भएका वडाध्यक्ष सुवासचन्द्र पौडेल, सदस्यहरु पर्शुराम पुरी, निलराज पुरी, टिका नेपाली र कमला श्रेष्ठले आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा श्वेतपत्र सार्वजनिक गर्नुभएको हो ।
पाँच वर्षको कार्यकालमा भएका कामहरुको बारेमा वडाध्यक्ष सुवासचन्द्र पौडेलले पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो । पौडेलले २९ वटा बुँदामा आफुहरुले गरेका कामहरुको सूचि सार्वजनिक गर्नुभएको छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, खेलकुद तथा आर्थिक एवं सामाजिक विकासका विभिन्न कार्यहरु वडाले सम्पादन गरेको पौडेलले जानकारी दिनुभयो ।
पाँच वर्षको अवधिमा वडा भवन बनाउन जग्गा व्यवस्थापन भएको, जेष्ठ नागरिक भवन, लिफटीङ खानेपानी, गोदामचौर समाजघर देखि खेलमैदान व्यवस्थापन, सार्वजनिक व्यायम केन्द्र तथा क्रियाघर निर्माण गरिएको उल्लेख छ । वडा क्षेत्रमा चार लेन तथा दुई लेनको पक्कि सडक बनेको कुरा पनि उपलब्धीमा समेटिएको छ ।
मठमन्दिरको संरक्षण, कृषिमा आकर्षण बढेको, कृषि तथा पशुपालनमा रोजगारी सृजना, खरेयामा सामूदायिक स्वास्थ्य केन्द्र निर्माणलाई वडाले उपलब्धी मानेको छ । वडा सदस्य पर्शुराम पुरीले जनताको नजिकको सरकार स्थानीय सरकार रहेकोले जनताका धेरै अपेक्षा रहेपनि औकात अनुसारका कामहरु वडाले सम्पन्न गरेको बताउनुभयो । उहाँले श्वेतपत्रमा सबै कुरा समेटिएको हुनाले यसैलाई आधार मानेर वडावासीहरुले आफुहरुलाई फेरि दोहोराउने वा बिदाई गर्ने भन्ने निणर्य गर्ने बताउनुभयो ।
वडामा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष र एक सदस्य र नेपाली काँग्रेसको तर्फबाट तीन जना सदस्य निर्वाचित हुनुभएको थियो । फरक फरक दलबाट जनप्रतिनिधी छानिएपनि मिलेर वडाको काम गरेको उनीहरुले बताए ।




