Print

पर्वतमा गठबन्धन वीच अझै जुटेन सहमति, वैठकहरु निश्कर्ष विहिन बन्दै

५ वैशाख, पर्वत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई पक्ष वीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । पर्वत जिल्लामा नेकपा एमाले एक्लै चुनावी मैदानमा आउँदैछ भने बाँकी रहेका ५ दलहरु एमालेसंग चुनावी प्रतिस्पर्धामा आउने भएका छन् । माओवादी केन्द्र, माधव समूहको समाजवादी, जनमोर्चा र जसपा सहितको मोर्चा बन्दी गरेका दलहरु वीच भने सहमति अझै जुटन सकेको छैन् ।

माओवादी र समाजवादीले हैसियतभन्दा धेरै सिट मागेको भन्दै कांग्रेसका नेताहरु रुष्ट बनेका छन् । कांग्रेस पाटी कार्यालयमा बसेका आधा दर्जन बढि बैठकहरु अनिर्णित बनेको बताइएको छ । ‘नेताहरु वैठक बसे पनि साना पाटीहरुले जनमत भन्दा धेरै संख्या देखाएर सिटमा चर्को बार्गेनिङ गरेका छन्’ कांग्रेसका एक .नेताले भने ‘जनमतको अपमान हुने गरी गठबन्धन गर्ने पक्षमा पर्वतको कांग्रेस छैन ।’ उता, माओवादी केन्द्रले भने एमालेको डर देखाएर धेरै सिट आफ्नो पक्षमा पार्ने गरी लबिङ गरीरहेको छ ।

जिल्लाको महत्वपूर्ण र ठूलो नगरपालिका कुश्मा नगरपालिकाको प्रमुखमा माओवादीको दावी छ ।

यसैगरी दक्षिणको पैयू र उत्तरको जलजला गाउँपालिकाको अध्यक्षमा समेत माओवादीले दावी गरेको छ । एमालेसंग मिल्दा यी पालिकाहरुको नेतृत्व आफूले पाउने तर्क सहित माओवादी अन्तिम बटमलाईन लिएर कांग्रेससंग यी पालिकाहरुको दावी गरीरहेको छ ।

उता, समाजवादीले भने फलेवास नगरपालिकाको प्रमुखमा दावी पेश गरेको छ । बाँकी पालिकाहरुका कांग्रेसले नेतृत्व गर्ने र उपाध्यक्ष तथा उपप्रमुखहरुमा बाँडफाँड गर्ने साना दलहरुको प्रस्ताव छ ।

पालिकाहरुको सहमति जुटन नसकेका कारण वडाहरुको छलफल भने औपचारिक प्रारम्भ नै नभएको वार्ता दलका सदस्यहरुको भनाई छ । पाटीहरुले आफ्नो तर्फबाट वडाहरुको समेत खाका बनाए पनि पालिकाहरुको टुंगो नलागेका कारण वडाहरुको छलफल आवश्यक नभएको माओवादीका एक नेताले बताए ।

कांग्रेसले अन्य साना दलहरुको मत लिने तर सिट नदिने भित्री रणनीति निर्माण गरेको भन्दै साना दलहरुले गठबन्धनमा सम्मानजनक उपस्थिती खोजेका छन् । आफ्नो मतहरु नै निर्णाणक मत भएको र कांग्रेसले निर्वाचन जित्ने आधार आफ्ना मत भएकाले गठबन्धनको मर्म बमोजीम सिट बाँडफाँड हुनुपर्ने साना दलहरुको भनाई छ ।