८ मंसीर, पर्वत । नेपाली कांग्रेस पर्वतको निर्वाचन सम्पन्न भएपछि प्रारम्भिक मत परिणाम आउन शुरु गरेको छ । हिजो राती देखि मत गणना शुरु भएको निर्वाचनको आज विहान पहिलो मतपरिणाम आएको छ । पहिलो मतपरिणाम अनुसार युवराज जोशीको अग्रता सभापतिमा देखिएको छ । १ सय मत परिणाममा जोशीले ६ भोटको अन्तरले मल्ललाई पछि पारेका छन् । १ सय मत गणना हुँदा जोशीको पक्षमा ४७ र मल्लाको पक्षमा ४१ मत आएका छन् । यसैगरी अर्का उमेदवार मिलन सृवेदीले भने १० मत ल्याएका छन् ।
सभापति पदका उमेदवार मध्ये कुने एक जनाले कुल खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने हुन्छ । अन्तिम मतपरिणाममा ५१ प्रतिशत मत कुनै पनि उमेदवारको नआएमा पहिलो र दोस्रो हुने उमेदवार वीच पुनः मतदान हुने कांग्रेसको विधानमा ब्यवस्था छ ।
मत परिणाम अनुसार प्यानल बाहेक मिश्रित अवस्था पनि देखिएको छ । उप सभापति पदमा जोशी प्यानलको अग्रता छ भने सचिव पदमा मिश्रित देखिएको छ । उप सभापति पदमा जोशी प्यानलका डा. चुडामणी शर्माले अग्रता लिएका छन् । २ पदका लागि भएको उप सभापति पदको निर्वाचनमा शर्माले ५८ मत ल्याएका छन भने कमलराज पौडेलले ३० मत, गोविन्द पाध्याले ४१ मत, शिव प्रसाद सुवेदीले ४५ ल्याएका छन् ।
उता सचिव पदमा भने प्यानल बाहिरबाट मोहन आचार्यले अरु उमेदवारलाई पछि पारेका छन् । २ वटा सचिव पदका लागि भएको निर्वाचनमा अशोक उचै ठकुरीले ४७ मत, ओमप्रसाद शर्मा घायलले २० मत, कमल बहादुर अधिकारीले १९ मत, गुप्तनीति शर्माले २७ मत, पानबहादुर हमालले ३२ मत र मोहन आचार्यले ३७ मत ल्याएका छन् । सचिव पदमा ठकुरी र आचार्यको अग्रता देखिएको छ ।
उता, उप सचिवका लागि भएको मतगणनामा अच्युट तिवारीले ५८ मत, तिलक प्रसाद भुषालले ४४ मत परशुराम पुरीले ४१ मत र पंकज कुमार क्षेत्रीले २६ मत ल्याएका छन् ।




