११ असोज, पर्वत । निजामति कर्मचारी संगठन पर्वतद्धारा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र प्रदान गरिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो ।
.

संगठनका जिल्ला अध्यक्ष तेजप्रसाद सुवेदी र सचिव गौरबदास वैरागीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा केन्द्रिय कार्यालयमा लगाइएको ताजा तत्काल खोली दशौं राष्ट्रिय महाधिवेशन सफल बनाउन सहयोग गर्न सरकारसंग अनुरोध गरिएको छ । नेकपा एमाले विभाजन भए पछि सो पाटी निकट कर्मचारीहरुको संगठन पनि विभाजन भएको छ । विभाजन भएका कर्मचारी समूहले केन्द्रिय कार्यालयमा ताला लगाए पछि संगठनले ध्यानाकर्षण गराएको हो ।

विभाजनमा लागेका कर्मचारीहरुले केन्द्रीय कार्यालय आफ्नो भएको दावी गर्दै हुलहुज्जत गरी कार्यालयमा प्रवेश गरी कार्यालय कब्जा गर्न खोजेका थिए । उनीहरुका कामलाई सरकारले समेत साथ दिएको भन्दै संगठनको ज्ञापन पत्रमा उल्लेख गरिएको छ–‘अपराधीहरुलाई कारबाही गर्नुको सट्टा उल्टै संस्थाका आधिकारीक पदाधिकारी सदस्यहरुलाई कार्यालय भित्रैबाट पक्राउ गरी प्रहरी प्रशासनले कृत्रिम विवादको वहाना बनाई कार्यालयमा तालाबन्दी गरेको प्रति संगठन घोर, निन्दा, आपत्ति र भत्सर्ना गर्दछ ।’
सरकारले आफ्ना मागहरु सम्बोधन नगरे संगठनले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने समेत चेतावनी दिएको छ ।




