१६ साउन, पर्वत । मोदी गाउँपालिकाले दलित समुदायका २४ जनालाई आधुनिक आरन अनुदानमा उपलब्ध गराएको छ। दलित सशक्तीकरण कार्यक्रमअन्तर्गत चार लाख ५२ हजार रुपैयाँभन्दा बढी आरनहरू उपलब्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए। आठ वडा रहेको मोदीका सबै वडा समेटेर आरन प्रदान गरिएको हो । एउटा आरनको मूल्य १८ हजार ८४० रुपैयाँ रहेको क्षेत्रीले बताए।
‘परम्परावादी शैलीबाट काम गर्दा कुनै पनि काम छिटो हुँदैन, धेरै उत्पादन पनि निकाल्न सकिँदैन। आधुनिक आरनले दलित समुदायको सशक्तीकरणमा टेवा पुग्छ‚’ उनले भने, ‘प्रत्येक वडा समेटेर आरन दिइएका कारण प्रत्येक वडामा व्यावसायिक रूपमा भाँडाहरू बनाउनुहोस्, आम्दानी राम्रो गरेर आर्थिक अवस्थालाई केही माथि उठाउनुहोस् भनेर उहाँहरूलाई अनुदानमा आरन दिइएको हो।’
गाउँ ठाउँमा रहेका आरनहरू आधुनिक र व्यावसायिक नबन्दा अहिले पनि गाउँमै किन्नुपर्ने हतियार र भाँडा किन्न बजार झर्नुपर्ने बाध्यता रहेको प्रशासकीय अधिकृत क्षेत्रीको भनाइ छ। गाउँका आरनबाट उत्पादन हुने भाँडा, औजार र हतियारले गाउँलाई थेग्न सकेमा त्यसले आर्थिक समस्यामा रहेको दलित समुदायलाई राहत हुनुको साथै गाउँको पैसा गाउँमा नै थामिने अवस्था आउने क्षेत्री बताउँछन्।
‘बजारका भाँडा पुलमा तयारी भाँडा, औजार र हतियार किन्नेहरू कति देखिन्छन्। ती सामग्री पनि बजारमा यदाकदा बाहेक बन्दैनन्। बाहिरबाट आएका कारण व्यापारीको नाफा बाहेक अरू पैसा त बाहिर नै गयो‚’ उनले भने, ‘आधुनिक र व्यावसायिक रूपमा गर्ने हो भने जागिरको खोजीमा बजार पसेका तथा बिदेसिएका दलित समुदायका केही युवाले त गाउँमै रोजगारी पाउँछन्।’
धेरै ठाउँमा यो पेसा छोडिएका छन् भने बाँकी रहेकाहरू पनि विस्थापनको खतरामा छन्। अझै पनि पाथी भर्ने प्रचलनमा आधारित रहेर दलित समुदायको पाको पुस्ताले आरन चलाउँदै आएका छन्। वर्षभरि हतियारमा धार लगाएर वा भाँडा मर्मत गरेर केही पाथी अन्न र केही तरकारीमा चित्त बुझाउनुपर्दा परिवार धान्नै मुस्किल भएपछि आरन पेसा सङ्कटमा परेको छ।