१८ असार, पर्वत । जिल्लामा कोरोना संक्रमणको दर फेरी बढेर गएको छ संक्रमणको दर विगत १५ दिनको तुलनामा पछिल्लो ५ दिनमा निकै उच्च देखिएको छ । संक्रमणको दर घट्दै जाँदा मृत्यु दर शुन्यमा पुगेको थियो । पछिल्लो ३ दिनको अवधिमा भने मृत्यु दर पनि देखिएको छ ।

संक्रमणको दर उच्च हुँदै जाँदा निषेधाज्ञा भने खुकुलो पारिएको छ । असार महिनामा सरकारी आयोजनाहरुको फछ्यौट र कर संकलनको महिना भएका कारण पनि निषेधाज्ञा खुकुलो देखिन्छ । अर्को तर्फ, संक्रमणको दर भने विस्तार उकालो लाग्न थालेको देखिन्छ ।
विगत १५ दिन देखि मृत्यु दर शुन्य रहेको जिल्लामा बुधबार मात्रै १ जना संक्रमीतको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा न ५ का ५१ बर्षिय संक्रमीतको पोखरामा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
उता, संक्रमणको संख्या भने बढिरहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार असार १३ गते १ सय ९ जनामा संक्रमण पुष्टि भएको देखिन्छ भने असार १५ गते ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

ग्रामीण क्षेत्रहरुमा गरिएको परिक्षणमा संक्रमीतहरु ठूलो संख्यामा फेला परेका छन् । जिल्लाको पैयू गाउँपालिकाको भोर्ले क्षेत्रमा धेरै संक्रमीत फेला परेपछि त्यो क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ ।
पालिकाहरुका स्वास्थ्य शाखाका अनुसार परिक्षण गरिएकाहरु मध्ये संक्रमीत पुष्टि हुनेको संख्या दैनिक बढेको देखिन्छ ।
पर्वत अस्पतालमा उपचारका लागि शुन्य संख्या रहेको केहि दिनको तथ्यांक थियो भने पछिल्लो तथ्यांकमा त्यो दर बढेको छ । अहिले ६ जना विरामी भर्ना भएर उपचार गराईरहेको पर्वत अस्पतालले जनाएको छ ।




