२६ जेठ, पर्वत । सिमित उमेर समूहका लागि सरकारले लगाउन लागेको भेरोसिल खोप ढुक्कसंग लगाउन स्वास्थ्य कार्यालय पर्वतले आग्रह गरेको छ ।
आज एक कार्यक्रमका वीच पत्रकारहरु मार्फत स्वास्थ्य कार्यालयले यस्तो आग्रह गरेको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले खोपले ७९ प्रतिशत प्रभावकारिता देखाएको तथ्यांक भएकाले खोप लगाउन आग्रह गरे । कार्यालयले ६२ देखि ६५ उमेर समूहका मानिसहरुका लागि आगामी ३० र ३१ गते पर्वत जिल्लामा खोप लगाउने ब्यवस्थापन मिलाएको छ ।
खोप लगाउने कार्यक्रम भने स्थानीय तहहरुले सञ्चालन गर्नेछन् । कोभिसिल्ड खोपकै हाराहारीमा भेरोसिल खोपले पनि प्रभावकारिता देखाएको डा. गौतमको भनाई छ ।
स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीले पछिल्लो संक्रमण पर्वतमा उच्च स्तरमै रहेको बताए । उनले देश भरीको भन्दा पर्वतको मृत्यु दर पनि उच्च रहेको जानकारी दिए । संक्रमणको फैलावट कम हुँदै गएको देखिए पनि दर अझै पनि उच्च रहेको उनको भनाई छ ।

चिन सरकारबाट प्राप्त भएको खोप मध्ये पर्वतका लागि २१ सय डोज खोप प्राप्त भएको छ ।
स्वास्थ्य कार्यालयले माग गरे भन्दा कम मात्र खोप प्राप्त भएको जनाएको छ । २६ सय डोज खोप मागिएकोमा २१ सय डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ति सवै खोप जिल्लाका ७ वटा पालिकाहरुमा वितरण गरिने र पालिकाले खोप केन्द्र मार्फत तोकिएको उमेर समूहलाई खोप लगाउनेछन् ।

पालिकाले उमेर समूहमा ६४, ६३ हुँदै खोप पुगेमा मात्र ६२ बर्ष उमेर समूहका मानिसलाई खोप लगाउने जिल्ला खोप समन्वयन समितिले निर्णय गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका कार्यक्रम फोकल पर्सन तेजप्रसाद सुवेदीले खोप अभिमुखीकरण कार्यक्रमको सञ्चालन गरेका थिए ।




