५ वैशाख, पर्वत । माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमालेको माधवकुमार नेपाल पक्ष माओवादी केन्द्रमै मिसिने बताएका छन् । उनले माधव पक्षसंग पार्टी एकता हुन सक्ने समेत बताएका छन्। सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले निकट भविष्यमै माधव समूह एमालेमा बिद्रोह गरेर केहि नेता तथा कार्यकर्ता सहित माओवादी केन्द्रमा एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे ।
उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताए । माओवादी केन्द्रको साथ स्वय्म माओवादी केन्द्रका नेताहरु छोड्दै गइरहेको बेलामा माधव समूह आएपछि माओवादी केन्द्र देशको ठूलो पाटी बन्ने पौडेलको भनाई छ ।
उनले नेपाली काँग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको सुनाए । उनले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले बताए ।





