२७ फागुन, पर्वत । सवोच्च अदालतले एकिकृत एमाले र माओवादीलाई विघटन गरेपछि पर्वत पनि दुवै दलले पाटी कार्यालय स्थापना गरेका छन् । पाटी कार्यालय स्थापनाको क्रममा माओवादी केन्द्रमा भने विवाद देखिएको छ । पाटीका नेताहरुले पाटी एकता अघि नै प्रयोग गर्दै आइरहेको भवनमा कार्यालय स्थापना गरे पनि उक्त भवनमा अन्य २ वटा राजनैतिक दलले आफ्नो कार्यालय भन्दै बोर्ड राखेका छन् । एमालेसंगको एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पाटीको कार्यालय नेकपा एमालेको पाटी कार्यालयमा सञ्चालनमा थियो । एकता प्रक्रिया विघटन भएपछि एमालेले पूर्ववत अवस्थामा नै आफ्नो पाटी कार्यालय सञ्चालन गरेको छ ।
उता, माओवादी केन्द्रले भने साविक अवस्थामा नै पाटी कार्यालय सञ्चालन गर्न खोजेपछि माओवादीबाट फुटेर गएका अन्य २ वटा राजनैतिक दलले आफ्नो पाटी कार्यालय भन्दै कार्यालयमा बोर्ड स्थापना गरेका छन् । एमालेसंग मिलेर माओवादी आन्दोलनमा समाप्त पार्न खोज्नेहरु पुनः माओवादीको कार्यालयमा फर्केको भन्दै उनीहरु आक्रोसित बनेका थिए । कार्यालयमा विप्लबले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पाटी तथा वैद्यले नेतृत्व गरेको देशभक्त गणतान्त्रिक मोर्चाले पनि कार्यालय आफूहरुको भन्दै कार्यालयमा बोर्ड राखेको छ ।
यस अघि माओवादी पाटीका केन्द्रिय सदस्य गुप्त हमाल सहितको टोलीले पाटी कार्यालयमा बोर्ड राखेर कार्यालयको स्थापना भएको घोषणा गरेको थियो । त्यसको केहि घण्टामा नै साविक माओवादी पाटीबाट फुटेर गएका अन्य २ दलले उक्त कार्यालयमा आफ्नो पनि हक लाग्ने भन्दै कार्यालयमा बोर्ड राखेका हुन् । योसंगै माओवादी केन्द्रको पाटी कार्यालयको विवाद सार्वजनिक भएको छ । माओवादीका पूर्व कार्यकर्ताले उक्त भवन बनाउँदा नेतृत्वले अनियमितता गरेको, भवनको खर्च सार्वजनिक नगरेको, भवन ब्यक्तिको नाममा राखेको तथा भवनको नाउँमा ऋण लिएर रकमको दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् ।
माओवादी साविकको अवस्थाबाट फुटेर ४ वटा बनेको छ । प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र बाहेक वैद्य, विल्लब र बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी अहिले अस्तित्वमा छन् ।




