Print

नेकपाको दाहाल–नेपाल पक्षले जिल्ला नेतृत्व टुंगायो, पर्वतमा पूर्व माओवादी खेमा असन्तुष्ट

११ फागुन, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल पक्षले देश भरका ६८ जिल्लामा नेतृत्व टुंगाएको छ । जिल्ला नेतृत्वमा अध्यक्ष र सचिव मध्ये ओली पक्षमा लागेका नेताहरुको स्थानमा अर्को नेतृत्व चयन गरेको उक्त खेमाले पर्वत जिल्लामा पनि नेतृत्व टुंगाएको हो । पर्वत जिल्लामा यस अघि एकिकृत संगठनको जिल्ला नेतृत्वमा अध्यक्ष पदमा पदम गिरी र सचिव पदमा सुदीप कुँवर थिए । गिरी ओली नेतृत्वमा लागेपछि दाहाल–नेपाल पक्ष अध्यक्ष विहिन बनेको थियो ।

केन्द्रले एकै साथ ६८ जिल्लाको नेतृत्व टुंगाउँदा पर्वतको जिल्ला अध्यक्षमा भक्त कुँवरलाई चयन गरेको छ । अध्यक्ष कुँवर नेपाल पक्षका हुन् । उनी पूर्व एमाले हुन् । जिल्ला सचिवमा भने सुदीप कुँवरलाई नै यथावत राखिएको छ । सचिव कुँवर दाहाल पक्षका हुन् । उनी पूर्व माओवादी हुन् । सचिव कुँवर एकिकृत पाटीको जिल्ला सचिवसंगै गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य पनि हुन् । अध्यक्ष कुँवर एकिकृत पार्टीको जिल्ला कार्यालय सदस्य मात्र थिए । एकिकृत पार्टीको प्रदेश कमिटि सदस्यलाई जिल्ला सदस्य भन्दा तल्लो बरियतामा राखिएपछि जिल्ला सचिव कुँवर सहित दाहाल पक्ष भने असन्तुष्ट बनेका छन् ।

एकिकृत पार्टी फुटेर दुई भागमा विभाजन हुँदा पर्वतमा पूर्व एमालेको ८० प्रतिशत भन्दा बढि कार्यकर्ता ओली पक्षमा लागेका छन् । नेतृत्वमा रहेका केहि नेताहरु मात्र दाहाल–नेपाल पक्षमा लागेका कारण पर्वतमा दाहाल पक्षका नेताहरुले जिल्ला नेतृत्वमा दावी गरीरहेका थिए ।

कार्यकर्ता निकै कम भएको समूहलाई जिल्ला नेतृत्व दिँदा संगठन चलायमान नहुने दाहाल पक्षको भनाई छ । श्रोतका अनुसार केन्द्रले टुंगाएको जिल्ला नेतृत्व प्रति दाहाल पक्ष सन्तुष्ट छैन् । नेतृत्व लिएको पक्षले कार्यकर्ता पनि सोहि अनुपातमा आफ्नो पक्षमा ल्याउनुपर्ने दबाव दाहाल पक्षले दिदै आएका छ । संसद विघटनको विरुद्धमा भएका विरोध कार्यक्रमहरुमा नेपाल पक्षका निकै कम कार्यकर्ताहरुको मात्र उपस्थिती रहने गरेको तर्फ इंकित गर्दै दाहाल पक्षले नेतृत्व नेपाल पक्षलाई नेतृत्व दिन नमाने पनि केन्द्रले नेपाल पक्षलाई नै नेतृत्व दिएको हो ।

अध्यक्ष कुँवरको गृह पालिका मोदीमा पूर्व एमालेका सवै जनप्रतिनिधिहरु नै ओली पक्षमा लागेका छन् । पालिका कमिटिका बहुमत सदस्यहरु पनि ओली पक्षमै छन् । पूर्व एमालेको उपस्थिती मोदी गाउँपालिकामा दाहाल नेपाल खेमामा निकै कमजोर देखिन्छ ।

उता, कुश्मा, जलजला, विहादी महाशिला र पैयू गाउँपालिकामा पनि बहुमत पूर्व एमालेका जनप्रतिनिधिहरु ओली पक्षमा लागेका छन् । साविक एमालेले जितेको ४ पालिकाहरुका ८ जना पालिकाका प्रमुख तथा उपप्रमुखमहरुको बहुमत समूह पनि ओली पक्षमै छ । राष्ट्रिय सभाका अध्यक्ष, संघीय सांसद र प्रदेश मन्त्री समेत ओली पक्षका भएका कारण पूर्व एमालेको उपस्थिती दाहाल नेपाल समूहमा कमजोर देखिन्छ । यसैगरी नेपाल पक्षका कतिपय नेताहरु अझै पनि खुलेका छैनन् । उनीहरु नेपाल पक्षमा गएका छैनन् । नेपाल पक्षका नेताहरु आन्तरीक रुपमा ओली पक्षमा जाने तयारी गरीरहेको स्रोत बताउँछ । कतिपय नेपाल खेमाका नेताहरु भने ओली पक्षमा खुलिसकेका छन् । यसले पनि पर्वतमा पुर्व एमाले एकै ठाउँमा रहने संकेत गरेको छ ।

उता, पूर्व माओवादीका प्रदेश सभामुख भने दाहाल पक्षमै छन् ।

एकताको प्रक्रिया अझै नटुंगिएको भन्दै दाहाल पक्षले बहुमत नेतृत्व आफ्नो पक्षमा दावी गरीरहेको बेलामा केन्द्रमा भने आधा आधा भागबण्डामा नेतृत्व टुंगाउने सहमति भइसकेको छ ।

एकिकृत नेकपाको अधिकांश जनवर्गिय संगठन र कार्यकर्ता पर्वतमा ओली समूहमा लागेका छन् । जिल्लामा पूर्व एमालेको ठूलो समूह विभाजीत भएर ओली समूहमा लाग्दा दाहाल र नेपाल पक्षमा पूर्व एमालेको सानो समूह बाँकी रहेको छ । जिल्ला, पालिका र वडाको नेतृत्व टुंगाउँदा सोहि अनुपातमा मात्र विभाजन गर्नुपर्ने दाहाल पक्षको भनाई रहँदै आएको श्रोत बताउँछ ।

जनवर्गिय संगठनमा युवा संघ, अनेमसंघ, शिक्षक संगठन, कर्मचारी संगठन र प्रेस संगठनको पूर्व एमालेको सिंगो पंक्ति नै ओली पक्षमा देखिन्छ । संगठनको मर्म अनुसार सिनियरिटि र संख्याको अनुपातमा नेतृत्व टुंगाउनुपर्ने दवावमा दाहाल पक्ष लागेको छ ।

उता, ओली पक्षले भने सर्वसहमत रुपमा आफ्नो नेतृत्व टुंगाईसकेको छ । जिल्ला अध्यक्षमा पदम गिरी नै कायम छन् भने सचिवमा गोविन्द पहाडीलाई नेतृत्व दिइएको छ । पहाडी पूर्व एमालेका उप सचिव र एकिकृत पार्टीका कार्यालय सदस्य हुन् । ओली पक्षले ६१ वटै वडाहरुमा पनि वडा कमिटि पूर्न गठन अभियान शुरु गरेको छ । आधा भन्दा बढि कमिटिहरु पुर्नगठन भइसकेको ओली पक्षको भनाई छ । सो पक्षले पालिका कमिटिहरुमा पनि नेतृत्व विहिन भएको ठाउँमा नेतृत्व पूर्ति गर्ने कार्य योजना अघि बढाएको छ ।

जनवर्गिय संगठनहरुमा अनेमसंघ, कर्मचारी र शिक्षक संगठनमा साविक कमिटि कायम छन् भने युवा संघमा नेतृत्व हस्तान्तरणको प्रक्रिया शुरु भएको बताईन्छ । उता, प्रेस संगठनमा पूर्व प्रेस चौतारीको नेतृत्वलाई नै निरन्तरता दिइएकोे छ ।

पाटी विभाजन भए पनि कुन पक्ष विभाजन भएको हो निर्वाचन आयोगले निधो नगरेका कारण दुवै पक्षले आफूलाई संस्थापन पक्ष भनिरहेका छन् । दुई पक्ष मध्ये पर्वतमा ओली पक्षमा पूर्व एमालेका नेता तथा कार्यकताहरु मात्र देखिन्छन् । दाहाल नेपाल पक्षमा पूर्व एमालेका कम कार्यकर्ता मात्र लागेका कारण नेपाल पक्षलाई सकस परीरहेको छ ।

मुल पाटी विभाजन भइरहेको बेलामा आसन्न उद्योग बाणिज्य संघ र पत्रकार महासंघको निर्वाचनमा भने एकिकृत संगठन विभाजन नगर्ने गरी आन्तरीक प्रयास भइरहेको बताईन्छ ।