Print

सरकारको विरोधमा तरुण दलद्धारा कुश्मा बजारमा राँके जुलुस प्रदर्शन

१९ मंसिर, पर्वत । कांग्रेस नेता रामचन्द्र पौडेलको गिरप्तारीको बिरोधमा नेपाल तरूण दल पर्वतले विहिवार साँझ सदरमुकाम कुश्मा बजारमा राँके जुलुस प्रदर्शन गरेको छ ।
जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सरकारले काँग्रेसलाई जिस्काएर सरकारले राम्रो काम नगरेको बताए । उनले भने–‘संविधान र कानूनको मर्यादा काँग्रेसलाई थाह छ तर सरकारले लोकतन्त्र विरोधी हरकत गर्छभने त्यसको जवाफ काँग्रेसले दिन्छ ।’ नेता जोशीले देशमा सरकारको ज्यादती बढ्दै गएको भन्दै जुनसुकै बेला पनि कठोर आन्दोलन गर्नुपर्ने भएकोले कार्यकर्तालाई ‘हाइअलर्ट’मा बस्न निर्देशन दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले काँग्रेसका बरिष्ठ नेतालाई गिरफ्तार गरेर सरकारले लोकतन्त्रको मर्यादा नाघेको वताउँदै सरकारको अधिनायकवादी हर्कतविरूद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले केही दिनयता प्रहरी प्रशासन पनि जनताको सेवालाई विर्सेर नेकपाको तावेदारी गर्न थालेको दावी गर्दै प्रहरी प्रशासनको यो हर्कत लोकतन्त्रको उपाहास भएको बताए ।

नेपाल तरूण दलका जिल्ला सचिव अमृत ठकुरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन नेपाल तरूण दल कुश्मा नगरपालिकाका अध्यक्ष सुवर्ण अर्यालले गरेका थिए । वुधबार तनहुँमा घटेको घटनाको विरोधमा आजै नेपाल विद्यार्थी संघले कुश्मा बजारमा टाएर बालेर विरोध प्रदर्शन गरेको समेत गरेको थियो ।