१८ कातिर्क, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा पनि लक डाउनको घोषणा गरिएको छ । स्थानीय समुदायका कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुबाट संक्रमण थप फैलनसक्ने भन्दै गाउँपालिकाको संकट ब्यवस्थापन केन्द्रले ७ दिनका लागि लक डाउनको घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लका अनुसार अगामी कार्तिक १९ गते देखि कार्तिक २५ गतेसम्म वैंकिङ कारोबार तथा बजार बन्द गर्ने निर्णय भएको छ ।
लक डाउन अन्तर्गत गाउँपालिकाको कार्यालय तथा जलजला गाउँपालिकाका सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवा बाहेकको सेवा, गाउँपालिका स्थित बैंक, वित्तीय संस्था एबम सहकारि बाट प्रदान गरिने सेवाहरु र अत्यावश्यक सेवा र वस्तु बाहेकका पसलहरु हुने अध्यक्ष मल्लले जानकारी दिए । मुख्य गरी गाउँपालिकाको प्रमुख ब्यापारीक केन्द्रहरु बारीवेनी, मिलनचोक बजार, मोहन चोक, बगरफाँट लगाएतका क्षेत्रका बजारहरु बन्द रहनेछन् ।
गाउँपालिकाले अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घरबाहिर ननिस्कने तथा निर्णय कार्यान्वयन गराउन सबै गाउँपालिकाबासिहरुमा अनुरोध गरेको छ । दैनिक उपभोग्य वस्तु विक्री हुने पसलहरु भने विहान ७ बजे देखि १० बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने गाउँपालिकाले जनाएको छ ।
यस अघि मोदी गाउँपालिकाले कार्तिक १८ गते देखि कार्तिक २२ गतेसम्म लक डाउनको घोषणा गरेको छ । जिल्ला स्तरीय संकट ब्यवस्थापन समितिले भने सदरमुकाम कुश्मा बजार आगामी २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरीसकेको छ ।




