Print

यसरी हुँदैछ कुश्मा–दुर्लुङ सडक कालोपत्रे

१६ कार्तिक, पर्वत । जिल्लाको उत्तरी क्षेत्र दुर्लुङ, क्याङ र बाजुङलाई सदरमुकाम कुश्मा बजारसंग जोड्ने मुख्य सडक कुश्मा दुर्लङ सडकमा कालोपत्रेको काम भइरहेको छ । गत २ बर्ष अघि प्रतिनिधि सभाका सांसद पदम गिरीले कालोपत्रे कार्यको शुभारम्भ गरेपछि काम शुरु भएको सडकमा अहिले तिव्र गतिमा कालोपत्रेको काम भइरहेको छ । पूर्वाधार विकास कार्यालय मार्फत कालोपत्रेको काम भइरहेको उक्त सडकमा अहिले कालोपत्रे विच्छाउने काम धमाधम अघि बढिरहेको छ । जिल्लाका मुख्य सडकहरु कालोपत्रेको चरणमा पुग्दा जिल्ला सदरमुकामको बजार क्षेत्रलाई जोड्ने उक्त सडकमा अहिले काम भइरहेको हो ।

कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा कालोपत्रे बिच्छाउने कामको शुरुवात भएको सडक निर्माण गरीरहेको बुद्ध निर्माण सेवाका प्रमुख सागर श्रेष्ठले जानकारी दिए । कालोपत्रे बिच्छाउने कार्यको प्रतिनिधि सभाका सांसद गिरी, वडाअध्यक्ष तेजप्रसाद पाध्या सहितको टोलीले अनुगमन शुरु गरेको छ । सडकलाई टिकाउ र पक्कि बनाउनका लागि स्थानीयबासीको समेत खबरदारी हुनुपर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्य बताउँछन् । झण्डै १४ करोडको लागतमा निर्माण कार्य शुरुवात भएको उक्त सडकको ५ किलोमिटर सडक अहिले कालोपत्रे हुँदैछ । यस अघि झण्डै २ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । कुश्मा बजार देखि ७ किलोमिटर सडक कालोपत्रे हुँदा दुर्लुङको पद्मखोल्सीसम्म पक्कि सडक पुग्नेछ ।

दुर्लुङको वडा कार्यालय जोड्नेका लागि थप २ किलोमिटर सडक कालोपत्रेको लागि भने सडक डिभिजन कार्यालय मार्फत काम भइरहेको सांसद गिरीले जानकारी दिए । उक्त सडक खण्डमा अहिले ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । केहि ठाउँमा नाली निर्माणको काम बाँकी रहेको निर्माण ब्यवसायी श्रेष्ठ बताउँछन् । सडकलाई ८ मिटर फराकिलो बनाएर ५ मिटर कालोपत्रे गरिनेछ । सडक निर्माण कार्यमा गुणस्तरमा भने कुनै सम्झौता नगरिएको निर्माण कम्पनी र कार्यालयले दावी गरेको छ ।

चिसो मौसम शुरु भएका कारण अवको २ हप्ता पछि कालोपत्रेको काम भने रोकिनेछ । गर्मि मौसम शुरु हुँदा साथ थप खण्डमा कालोपत्रे बिच्छाएर आगामी चैत्र महिनासम्म ५ किलोमिटर सडक खण्डको काम सम्पन्न गरिने निर्माण ब्यवसायी श्रेष्ठले जानकारी दिए । अर्थ वीट साप्ताहिकबाट