Print

कुश्मामा स्थानीय प्रशासनद्धारा तेस्रो पटक लक डाउन, विहानै देखि बजार बन्द

१५ कार्तिक, पर्वत । कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेसंगै स्थानीय प्रशासनले पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा पुनः लक डाउनको घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालयले कुश्मा बजार क्षेत्रलाई लक्षित गरी लक डाउनको घोषणा गरेको हो ।

विहिवार प्रशासन कार्यालयमा बसेको कोरोना रोकथाम सम्बन्धि जिल्ला स्तरीय वैठकले कार्तिक १५ गते देखि २१ गतेसम्म बजार क्षेत्र बन्द तथा वडा कार्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीको भनाई छ । स्थानीय प्रशासनद्धारा जारी गरिएको लक डाउन कुश्मा बजारका लागि यो तेस्रो पटक हो ।

पहिलो पल्ट पर्वत अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिँदा समुदायमा संक्रमण फैलिएको आशंकामा एक साताका लागि लक डाउनको घोषणा गरिएको थियो । उनीहरुको सम्पर्कमा रहेका ब्यक्तिहरुको रिर्पोट नेगेटिभ आएसंगै लक डाउन खुल्ला गरिएको थियो । दोस्रो पटक एक जना राजनैतिक दलका नेतामा संक्रमण देखिएपछि पुनः दोस्रो पटक पनि लक डाउन गरिएको थियो ।

उनको सम्पर्कमा रहेकाहरुको रिर्पोट नेगेटिभ आएसंगै कुश्मा बजारको अवस्था पुर्ववत अवस्थामा फर्केको थियो । लगतै दशै पर्व नजिएकाले स्थानीय ब्यक्तिहरुमा संक्रमण पुष्टि हुँदा समेत प्रशासन कार्यालयले खासै कडाई गरेन । दशै अगावै एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

दशै सकिए लगतै कुश्माकै अर्का एक ब्यक्तिको मृत्यु भएपछि भने पुनः तेस्रो पटक लक डाउनको घोषणा गरिएको छ । शुक्रबार मात्रै कुश्मा नगरपालिका क्षेत्रमा मृतकका परिवार सहित थप ६ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि पनि समुदायमा गरिएको पिसिआर संकलनमा बजार क्षेत्रकै केहि युवाहरुमा पनि संक्रमण पुष्टि भएको थियो । दशैको समयमा बजार क्षेत्रमा ब्यापारीक प्रयोजनका लागि मानिसको भिड धेरै भएका कारण संक्रमण समुदाय स्तरमा विस्तार भएको अनुमान गरिएको छ ।