Print

मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ सडक खण्ड र मालढुंगा–बेनी सडक अवरुद्ध

८ असोज, पर्वत । मंगलवार साँझदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ सडक खण्ड र मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ सहस्रधारामा पहरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वतको जलजला गाउँपालिका वडा नं ८ फर्सेमा खोलामा गेग्रान बगेर आएका कारण सडक अबरुद्ध बनेको हो ।

सडक अवरुद्ध हुँदा साविक धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधनहरु मालढुंगा र फर्सेमा अलपत्र बनेका छन् । सहस्रधारामा आज केही सानो पहिरो गएका कारण छिट्टै सडक सुचारु गर्न सकिने र फर्सेमा केहीबेरमा सडक खुल्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

सहस्रधारामा पहिरो गएका कारण दुई सातादेखि सामान्य वर्षा हुने वित्तिकै पनि पटक पटक सडक अवरुद्ध हुने गरेको छ । मंगलवार साँझदेखि अबरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजे एकतर्फी सञ्चालनमा आएको थियो ।