१७ असार, पर्वत । जिल्लाको विहादी गाउँपालिका वडा न २ बर्राचौर स्थित बरौचौर स्वास्थ्य चौकीलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो ।
२ बर्ष मुनीका बालबालिकालाई उनीहरुको बृद्धि विकासमा सहयोग पुराउनका लागि पोषिलो खानेकुराहरुको आवश्यकता पर्दछ । पोषिलो खाना नपाउँदा अझै पनि नेपालमा ४५ प्रतिशत बालबालिकाका मृत्यु कुपोषणवाट हुने गरेको छ । गाउँपालिकाले उक्त स्वास्थ्य संस्थालाई कुपोषणको निरन्तर अनुगमन गरी वडा भित्र कुपोषित बालबालिका विहिन बनाउने गरी स्वास्थ्य संस्थालाई पोषणयुक्त स्वास्थ्थ संस्थाको रुपमा घोषणा गरेको हो ।
स्वास्थ्य चौकीमा आयोजीत एक कार्यक्रमका वीच गाउँपालिकाका अध्यक्ष कमल भुषालले गाउँपालिका भरीका सवै बालबालिकाको प्राथमिक स्वास्थ्यको जिम्मा स्थानीय सरकारको भएको बताउँदै कुपोषणका कारण मृत्यु हुनेको संख्या न्यून बनाउन गाउँपालिका सक्रिय रहेको बताए । उनले बालबालिका स्वस्थ्य भएमा देशले स्वस्थ्य नागरिक पाउने बताउँदै अभिभावकले पनि बालबालिकालाई स्वस्थ्थ बनाउन पोषिलो खानेकुराहरु खुवाउनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयाजक हरी भुषालले अभिभावक र स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरेर बच्चाहरुलाई कुपोषणबाट मुक्त गराउनुपर्ने धारणा राखे । कार्यक्रमको औचित्य र यसको कार्यान्वयनका विषयमा जानकारी गराउँदै भुषालले बच्चाहरुको मासिक अनुगमन गरी १ हजार दिन भित्रका बच्चाहरुलाई बढि नै पोषिलो खानेकुराहरु खुवाउने कुरामा सवैले ध्यान दिनुपर्ने धारणा राखे । गर्भमा रहे देखि बच्चा २ बर्षको नहुँदासम्म उसको बृद्धि विकासमा सवैले ध्यान दिनुपपर्ने उनको धारणा थियो ।
विहादी २ बरौचौरका वडाअध्यक्ष ओमप्रकाश कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख भुपेन्द्रनाथ पौडेलले गरेका थिए ।




