Print

दुर्लुङ पहिरो : संघीय सरकारद्धारा राहत र पुर्नस्थापनाका लागि सहयोग गर्ने

८ असार, पर्वत । गत जेठ ३१ गते साँझ दुर्लुङ्गमा गएको भीषण पहिरोका पीडित परिवारलाई तत्कालै राहत र पुनर्स्थापनाको काम अगाडि बढाउने निर्णय भएको छ ।
पहिरोका कारण विस्तापित बनेका १३ घर परिवारलाई तत्काल अस्थाई आवास निर्माणका लागि प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने गृह मन्त्रालयले निर्णय गरेको छ ।

मन्त्रालयले अस्थाई आवासकालागि रकम अपुग हुने अवस्था रहे जिल्ला विपद व्यवस्थापन समितिको सिफारिसमा थप ५० हजार रुपैयाँ उपलब्ध गराउन समेत निर्णय गरेको जनाएको छ ।

पहिरोबाट अति जोखिमा परेका घरपरिवारहरूलाई बस्ति स्थानान्तरण गर्नु पर्ने वा नपर्ने विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन खानी तथा भू–गर्भ विभागलाई जिम्मा दिने निर्णय भएको बताइएको छ ।

यदि बस्ती स्थान्तरण गर्नुपर्ने अवस्था भए तत्काल लागत स्टिमेट सहितको कार्ययोजना तयार गरी शहरी विकास मन्त्रालयले कार्य सुरू गर्ने मन्त्रालयले जनाएको छ ।
विभागको प्रतिवेदनका आधारमा बस्ती स्तान्तरण गर्नु पर्ने स्थिति नदेखिएको अवस्थामा पहिरोलाई नियन्त्रण गर्न र बस्ती संरक्षण गर्नका लागि आवश्यक कार्य योजना तयार गर्न उर्जा तथा जलश्रोत मन्त्रालयलाई जिम्मा दिने समेत निर्णय भएको छ ।

पीडित परिवारको अवस्था बुझ्न साथै पहिरोको स्थलगत अवलोकनका लागि जेठ ३२ गते नै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र सांसद पदम गिरी पहिराग्रस्त स्थानमा पुगेका थिए ।

पहिरोको अवलोकन पछि अध्यक्ष तिमिल्सीनाको सचिवालयले राहत र पुर्नस्थापना तथा पहिरो नियन्त्रण कार्यका लागि सहयोग गर्न सरकारलाई आग्रह गरेको थियो । सोही बमोजीम पहिरो पिडितका लागि सहयोग र राहत मिल्ने भएको हो ।