Print

दुर्लुङ पहिरो : बर्षात हुँदा स्थानीयमा त्रास

५ असार, पर्वत । गत जेठ महिनाको ३१ गते राती भिषण बर्षात हुँदा कुश्मा नगरपालिका वडा न ३दुर्लुङमा ठुलो पहिरो गयो । झण्डै २ किलोमिटरको लम्बाई बनाएर गएको पहिरोका कारण ९ जनाको मृत्यु भयो । २ घर पूर्ण रुपमा पुरिए भने एउटा घरमा क्षति पुग्यो ।

ठूलो बर्षातका कारण झण्डै ४० वटा घर उच्च जोखिममा छन् । बर्षातका कारण जमिन गलेको, खोल्साहरु गहिरिएको र जमिनको सतह दबदबे बनेका कारण थप पहिरोको जोखिम रहेका कारण स्थानीयबासीमा थप त्रास सृजना भइरहेको छ । केहि दिन देखि पुनः बर्षात भइरहेको छ ।

‘बर्षातको समयमा गलेको जमिन भाँसिने वा पहिरो नै जाने हो की भन्ने त्रास छ’ कुश्मा ३ का वडा सचिव याम पौडेल भन्छन–‘बर्षात हुँदा रातको समयमा स्थानीय निदाउँन छोडेका छन्’ पहिरोको उच्च जोखिममा रहेका घरहरुका स्थानीयमा ठूलो त्रास सृजना भएको छ ।

पहिरोको जोखिम नै भएको स्थानमा पहिरो जाँदा ९ जनाको मृत्यु भएको थियो । पहिरो गएको साँझ दुर्लुङका केहि वस्तीमा निकै ठूलो बर्षात भएको थियो । बर्षातले थप जोखिम निम्ताए पछि स्थानीयलाई सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ ।