गणेश गिरी/१५ वैशाख, पर्वत । जिल्लाका कुल घरधुरी संख्या मध्ये १९ प्रतिशत घरधुरीले सरकारको राहत पाएका छन । स्थानीय तहहरु मार्फत वितरण गरिएको राहत प्याकेजमा कुल १९ प्रतिशत घरधुरीको पहुँच पुगेको हो । जिल्लाका ७ वटै स्थानीय तहहको तथ्यांक अनुसार कुल ६ हजार ९ सय ९७ घरधुरीले राहत पाएका हुन । गाउँपालिकाहरुको तथ्यांक बमोजीम जिल्ला भर कुल ३७ हजार ३ सय ९७ घरधुरीहरु रहेका छन । यो संख्यालाई औसत प्रतिशतमा हेर्दा कुल १८ दशमल ७१ प्रतिशत हुन आउँछ ।
जिल्ला भर कुल १ करोड ४१ लाख ४ हजार ४ सय १ रुपैंया हालसम्म खर्च भएको छ । यो रकम जिल्लाका ७ वटै स्थानीय तहहरुले गरेको खर्च रकम हो । जिल्लाका स्थानीय तहहरुले आफ्नै–आफनै मापढण्ड बनाएर राहत वितरण गरेका हुन । लक डाउनको तेस्रो साता देखि नै राहत वितरण गरेका पालिकाहरुमा राहत वितरण कार्यक्रम करिब अन्त्य चरणमा पुगेको बताईन्छ । जिल्लामा कुल राहत प्राप्त गर्ने परिवारले प्रति परिवारमा औसत २ हजार १५ रुपैंया रकम बराबरको सामाग्री प्राप्त गरेका छन ।
कुश्मा नगरपालिका
कुल १० हजार ३ सय ११ घरधुरी सख्या रहेको कुश्मा नगपालिकामा कुल घरधुरीको २७ प्रतिशत घरधुरीले राहत पाएका छन । राहत वितरणको समाचार तयार गर्दासम्म कुल ४७ लाख रुपैंया खर्च भएको बताइन्छ । नगरपालिकाका अनुसार संख्या अझै बढ्न सक्नेछ । सदरमुकाममा रहेको नगरपालिकामा श्रमिक र मजदुरहरुले समेत राहत पाएका कारण कुल घरधुरी संख्या बढि देखिएको नगरपालिकाले जनाएको छ । अरु पालिकाका श्रमिकहरु पनि कुश्मामा बस्ने हुँदा उनीहरुले समेत नगरपालिकाबाट राहत लिँदा संख्या धेरै देखिएको नगरपालिकाका अधिकारीहरुको भनाई छ । कुश्मा नगरपालिकामा कुल २ हजार ७ सय ८४ घरधुरीले राहत पाएका छन । औषतमा प्रति घरधुरी रु १ हजार ६ सय ८८ रुपैंया बराबरको राहत पाएका छन् ।
फलेवास नगरपालिका
राहत वितरणमा कडाई गरेको फलेवास नगपालिकामा कुल घरधुरीको १२ प्रतिशतले राहत पाएका छन । कुल घरधुरी मध्ये ६ सय ७३ परिवारले राहत पाएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र ५ हजार ७ सय २६ घरधुरी रहेका छन । नगरपालिकाले निम्न वर्गलाई मात्र राहत वितरण गर्ने नीति लिएका कारण थोरै घरधुरीले मात्र राहत पाएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा कुल २३ लाख रुपैंया राहत वितरणमा खर्च भएको छ । प्रति परिवार ३ हजार ४ सय १८ रुपैया बराबरको राहत वितरण भएको नगरालिकाले जनाएको छ । औसतमा कुल ३५ सय नबढ्ने गरी प्रति परिवारलाई राहत उपलब्ध गराउने गरी मापढण्ड निर्माण गरी नगरपालिकाले राहत वितरण कार्यक्रम अघि बढाएको थियो ।
मोदी गाउँपालिका
जिल्लामा सवैभन्दा कम घरधुरीमा राहत उपलब्ध गराएको मोदी गाउँपालिकाले निम्न आय आर्जन भएका गरिब, मजदुर र श्रमिक वर्गलाई मात्र राहत वितरण गरिएको जनाएको छ । गाउँपालिका भित्रका कुल ७ हजार ३ सय घरधुरी मध्ये ६ सय १० परिवारलाई मात्र गाउँपालिकाले राहत उपलब्ध गराएको छ । कुल १५ लाख ५० हजार रुपैया राहत वितरणमा खर्च गरेको गाउँपालकाले प्रति परिवार २ हजार ५ सय ४१ रुपैंया बराबरको राहत उपलब्ध गराएको छ । कुल घरधुरीको ८ प्रतिशत मात्र घरपरिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । जागिर भएका, मध्यम र वैदेशिक रोजगारमा भएकाहरुलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छैन । यसका कारण न्यून वर्गलाई मात्र राहत उपलब्ध गराउँदा संख्या कम देखिएको गाउँपालिकाको भनाई छ ।
जलजला गाउँपालिका
जिल्लाको जलजला गाउँपालिकाले कुल घरधुरी मध्ये १९ प्रतिशतलाई राहत उपलब्ध गराएको छ । जलजला गाउँपालिका भित्र झण्डै ५ हजार ५ सय घरधुरी रहेका छन । गाउँपालिकाले कुल घरधुरी मध्ये १ हजार ६६ परिवारका लागि राहत उपलब्ध गराएको छ । कुल १६ लाख २८ हजार ४ सय १२ रुपैंया राहत वितरणमा खर्च गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका राहत उपलब्ध गराउँदा भएको खर्चको सवै विवरण समेत सार्वजनिक गरेको छ । गाउँपािलकाले प्रति परिवार औसतमा १ हजार ५ सय २८ रुपैया उपलब्ध गराएको छ । १८ प्रतिशत नबढ्ने गरी कुल परिवारलाई राहत उपलब्ध गराउने योजना निर्माण गरे पनि पछि केहि घरधुरी बढेका कारण १९ प्रतिशत परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको हो ।
महाशिला गाउँपालिका
राहत वितरण कार्य जिल्लामै पहिलो पल्ट शुरुवात गरेको महाशिला गाउँपालिकाले कुल घरधुरीको १६ प्रतिशत संख्यालाई राहत उपलब्ध गराएको छ । जिल्लाको सानो गाउँपालिका भित्र पर्ने यस गाउँपालिकामा कुल घरधुरी २ हजार २ सय ६० परिवार रहेका छन । ति परिवार मध्ये गाउँपालिकाले ३ सय ६३ परिवारका लागि मात्र राहत उपलब्ध गराएको छ । राहत वितरणका लागि कुल ७ लाख २६ हजार खर्च गरेको छ । गाउँपालिकाले प्रति परिवारका लागि औसत रु २ हजार रुपैया खर्च गरेको हो । गाउँपालिका भित्र रहेका न्यून आय भएका विपन्न परिवारका लागि मात्र राहत उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
विहादी गाउँपालिका
जिल्लाको विहादी गाउँपालिकाले कुल परिवार मध्ये १९ प्रतिशत परिवारका लागि राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पालिका भित्रका कुल २ हजार ८ सय घरपरिवार मध्ये ५ सय ३८ परिवारका लागि राहत उपलब्ध गराएको हो । पालिकाले कुल ९ लाख रकम राहत वितरणमा खर्च गरेको छ । न्यून आय भएका श्रमिक र गरिबहरुका लागि मात्र गाउँपालिका वडाहरुको सिफारिसमा राहत उपलब्ध गराएको जनाएको छ । विहादी गाउँपालिकाले कुल परिवारलाई वितरण गरिएको राहत रकम औषतमा १ हजार ६ सय ७३ रुपैया प्रति परिवार परेको छ । कम संख्यालाई राहत आवश्यक भएकाले सोही बमोजीम राहत उपलब्ध गराउने नीति लिइए पनि राहत माग गर्नेको संख्या धेरै भएका कारण संख्या बढेको गाउँपालिकाको भनाई छ ।
पैयू गाउँपालिका
जिल्लाको पैयू गाउँपालिकाले कुल घरधुरी मध्ये सवै भन्दा बढि झण्डै २७ प्रतिशत घरधुरीलाई राहत उपलब्ध गराएको जनाएको छ । गाउँपालिकाले घ वर्ग र ग वर्ग गरी दुई वटा वर्ग वर्गिकरण गरेको थियो । घ वर्गका ७ सय ८४ र ग वर्गका कुल परिवार १ सय ७९ लाई राहत उपलब्ध गराएको जनाएको छ । गाउँपालिका भित्र कुल ९ सय ६३ परिवारले राहत पाएको गाउँपालिकाले जनाएको छ । झण्डै ३ हजार ५ सय घरधुरी संख्या रहेको गाउँपालिकाले दुई वर्गलाई राहत उपलब्ध गराउँदा घरधुरीको प्रतिशत केहि धेरै देखिएको जनाएको छ । गाउँपालिकाले राहत वितरणका लागि कुल २३ लाख खर्च भईसकेको जनाएको छ । केहि छुटेका परिवार अझै पनि सम्पर्कमा आएको पालिकाको भनाई छ । गाउँपालिकाले प्रति परिवार औसतमा २ हजार ३ सय ८८ रुपैंया वराबरको राहत उपलब्ध गराएको जनाएको छ ।
राहत वितरण कार्य छिटो भएको भने आलोचना भने भईरहेको छ । राहत आवश्यक पर्ने समय नआउँदै पालिकाहरुले राहात उपलब्ध गराएका कारण अर्को चरणको राहत उपलब्ध गराउँदा आर्थिक समस्या पर्ने भएको छ । जिल्ला भर झण्डै डेढ करोड एक चरणमा राहत उपलब्ध गराउँदा अर्को चरणमा पनि राहत बाड्नुपर्ने भए रकम अझै बढ्ने देखिन्छ । राहत वितरण कार्यको जिल्ला प्रशासन कार्यालयले अनुगमन गरीरहेको जनाएको छ ।





