२३ माघ, पर्वत । भुगर्व विद् डा. रञ्जन कुमार दाहालले कुश्मा नगरपालिका आगामी भूकम्पको उच्च जोखिममा रहेको बताएका छन । उनले पर्वत जिल्लाको जमिनको तल्लो तहमा चिन र भारतका प्लेटहरु आपसमा ठोकोएर ठूला शक्ति सञ्जय भईरहेको भन्दै यो क्षेत्रमा जुनसुकै बेला पनि ठूलो भुकम्प जानसक्ने बताए ।
भुगर्व र विपद् ब्यवस्थापनका वैज्ञानिक डा. दाहालले कुश्मा बजारमा आयोजीत एक अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताएका हुन । उनले पर्वत जिल्ला मध्ये पनि कुश्मा नगरपालिका र यसको पश्चिम क्षेत्र निकै ठूलो जोखिममा रहेको बताए । पर्वत देखि म्याग्दीको दाना क्षेत्र भुकम्प जोखिमको हिसावले निकै उच्च जोखिममा रहेको भन्दै पूर्व सावधानी अपनाउन दाहालले अनुरोध गरे ।
हिमालयन कन्जभेर्सन गु्रपका बरिष्ठ वैज्ञानिक डा. दाहालले भुकम्पबाट इन्जीनिरिङ डिजाईनमा पक्कि संरचना निर्माण गर्न समेत अनुरोध गरे । यो क्षेत्रका अग्ला र मापढण्ड विपरितका संरचनाहरुका कारण आगामी भुकम्पले ठूलो क्षति पुराउन सक्ने उनले आकलन गरे । उनले नगरपालिकाले विपद् न्यूनिकरणका लागि नक्शापासमा कडाई गर्नुपर्ने समेत सुझाब दिए ।
अन्तराष्ट्रिय मेडिकल कप्र्सको सहयोगमा हिमालयन कन्जरभेसन गु्रप नेपालद्धारा आयोजित अन्तरक्रियामा प्राकृतिक प्रकोप सँगै मानव सिर्जित कारणहरुवाट पनि विपदहरु आउने गरेकोले त्यसमा मानविय सावधानी अपनाउनुपर्नेमा भूगोल विज्ञानका ज्ञाताहरुले सुझाब दिएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले वाढी, पहिरो, चट्याङ, भुकम्प, महामारी, असिनापानी, खडेरी, आधुहुरी र सडक दुर्घटना लगायतले पनि विपद निम्तिने बताउँदै यसका लागि हरेक तहमा पूर्व तयारी हुनु अवाश्यक रहेको बताए ।
सो अवसरमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जे पर्ला त्यहि टर्ला भन्ने मानसिकताको विकासका कारण हामीले हरेक विपदमा धेरै क्षति व्यहोर्नु परेको बताउँदै विपद् न्यूनिकरणका लागि आवश्यक नीति र योजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले कुश्मा नगरपालिकाले पनि विपद व्यवस्थापन कोष खडा गरेर रकम जम्मा गर्दै आएको बताउँदै आगामी दिनमा एकीकृत विपद नक्सा समेत बनाएर काम थाल्ने बताए ।
कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले विपद प्राकृति र मानविय दुवै कारणले सिर्जना हुन सक्ने बताउँदै यसको दिर्घकालीन योजना बनाएर अघि बढुनुपर्ने बताईन ।




