Print

विहादीको उराममा गेप्ताङ सामुदायिक स्वास्थ्य इकाईको स्थापना

१७ माघ, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको विहादी गाउँपालिकाको वडा न ५ उरामपोखरामा गेप्ताङ सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ । स्वास्थ्य ईकाईको नव निर्मित भवनको एक कार्यक्रमका वी गाउँपालिका अध्यक्ष कमल भुषालले शुभारम्भ गरेका छन । यसैगरी अध्यक्ष भुषालले भवनको उद्घाटनसंगै सेवा प्रारम्भ भएको समेत घोषण गरे । स्वास्थ्य चौकीबाट टाडा रहेका वस्तीहरुमा स्वास्थ्य सेवा सहज रुपमा पुराउने उद्देश्यले उक्त स्वास्थ्य ईकाईको स्थापना गरिएको गाउँपालिका अध्यक्ष भुषालको भनाई छ ।

स्वास्थ्य ईकाईको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष भुषालले सवै जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त ईकाईको स्थापना गरिएको बताए । उनले गाउँपालिका भित्रका सवै जनताको स्वास्थ्य सेवाको प्राथमिक उपचारको जिम्मा गाउँपालिकाले लिने बताउँदै स्वास्थ्य चौकी पायक नपर्ने वस्तीहरुमा स्वास्थ्य इकाईको स्थापना गरिने समेत बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषीराम पन्थीले स्वास्थ्य सेवाबाट कोहि पनि बञ्चित हुन नपरोस भनेर स्थापना गरिएको स्वास्थ्य इकाईलाई दिर्घकालीन रुपमा सञ्चालन गर्न सवैको सहयोग र साथ मिल्नुपर्ने धारणा राखे । उनले जनताको आधारभूत आवश्यकता सरकारबाट स्वास्थ्य सेवा लिन पाउनु रहेकोले स्थानीय सरकार यो विषयमा संवेदनशिल हुनुपर्ने धारणा राखे । कार्यक्रममा विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी भुषालले स्वास्थ्य इकाईबाट प्रवाह हुने सेवा सुविधाका विषयमा जानकारी गराएका थिए ।

उनले आवश्यकताका आधारमा कर्मचारीको संंख्या थप गर्न सकिने समेत जानकारी दिए । हाल स्वास्थ्य इकाईमा अहेवको दरबन्दी सहितको सेवा प्रवाह शुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र विहादी गाउँपािलकाको संयुक्त साझेदारीमा कुल २२ लाखको लागतमा निर्मित भवनबाट सेवा प्रवाह शुरु भएको छ । कार्यक्रमकको सञ्चालन कालिका आधारभुति विद्यालयका प्रअ शेरबहादुर थापा र अध्यक्षता वडाअध्यक्ष श्यामबहादुर केसीले गरेका थिए । उक्त स्वास्थ्य इकाईबाट करिब १ सय ५० भन्दा घरधुरीले स्वास्थ्य सेवा लिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।