Print

छैटौ पर्वत महोत्सवको विशेष आकर्षण : केराको मःमः, दैनिक ६ सय प्लेट विक्री

१३ माघ, पर्वत । ‘मैले जीवनमा कहिले पनि केराका यस्ता खालका परिकार चाखेको थिईन्ँ। तर केराको म:म: खाँदा आनन्द आयो स्वाद गज्जब रहेछ।’ छैठौं पर्वत महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक ठाकुर बी. पौडेल भन्दै थिए, ‘महोत्सवमा केराका परिकारले राम्रै ठाउँ पाएको छ। केराको म:म: र पकौडा खानेहरूको लाइन छ।’  पर्वत महोत्सवका लागि तयार गरिएको स्टेज नजिकै १२ नं. स्टलमा ‘कुस्मा केरा म:म: घर’ छ। स्टलमा धेरै खानेकुराहरू केराबाट नै तयार पारिएको छ। केराको म:म: पाकिरहेको छेवैमा केराको अचार, केरा फ्राई र केराको पकौडा पनि तयार गरिएको छ। पसलमा जानेमध्ये धेरैले स्टल खोजी खोजी केराको म:म: र पकौडाको स्वाद चाख्‍ने गरेका छन्‌।

‘बजारमा चिकेन्‌, भेज र बफ म:म:को मात्रै नाम सुनेकी थिएँ, यहाँ आउँदा केराको म:म: पाइन्छ भनेर लेखेको देखेँ। अचम्म लागेर स्वाद लिन आएकी।’ म:म: खाँदै गरेकी एक जना विद्यार्थी प्रजु सुवेदीले भनिन्‌,‘स्वाद मिठो लाग्यो, अब पकौडा र अचार पनि चाखेर फर्किने हो।’ कुस्मा नगरपालिकाका भगवान् पोखरेलले महोत्सवमा केराको म:म: पसल सञ्चालन गरेका हुन्‌। पेशाले इलेक्ट्रीसियन पोखरेलले दुई वर्ष अगाडि चितवनमा लागेको महोत्सवमा केराको म:म: चाखेपछि यसको मिठास बुझेका थिए। उनले भने, ‘न त मैले होटेल चलाएको, न त म:म: पकाउन जानेको मान्छे, पर्वत जिल्लामा अहिलेसम्म केराको म:म: पाकेको थाहा नपाएकाले यहाँका लागि नौलो हुन सक्छ भन्ठानेर नै नयाँ प्रयोग गरेको हुँ।’ महोत्सवमा आउने धेरैले काँचो केराबाट तयार पारिएका परिकारहरू मन पराएपछि गाउँ-गाउँबाट काँचा केरा खरिद गरिरहेको, तर अपुग नै रहेको स्टल सञ्चालक पोखरेलले जानकारी दिए।

मानवीय स्वास्थ्यको लागि पनि केरा राम्रो हुने भएकोले पनि केराका परिकारमा धेरैको आकर्षण रहेको उनको भनाई छ। भविष्यमा केराको म:म: नै पकाएर राम्रो आम्दानी सहितको जीविकोपार्जन गर्न सकिने लक्ष्य लिएका उनले नयाँ प्रयोग गर्ने हो भने सफल हुन कठिन नहुने र महोत्सव चलिरहेको बेला रातभर ७/८ जनाले म:म:का डल्ला तयार गर्ने गरेको बताए। एक प्लेट म:म: को १ सय २० रुपैयाँ, एक प्लेट पकौडाको ७० रुपैयाँ, एक प्लेट अचारको ५० रुपैयाँ र एक प्लेट केरा फ्राईको मूल्य १०० रुपैयाँ तोकिएको छ। महोत्सवमा आउने दर्शकदेखि कलाकार तथा अन्य अतिथिहरूले पनि स्टेजमा बस्दा केराको म:म: पसल देखेर पसलमै पुगेर स्वाद लिने गरेको पोखरेलले बताए। स्टलमा एकैदिन ६ सय प्लेट भन्दा बढी म:म: बिक्री भएको म:म: तयार पार्ने दीपेन्द्र सुवेदीको भनाई छ। चिकित्सकहरूका अनुसार काँचो केरा खाएमा मानिसको शरीरमा रोगबिरुद्ध लड्ने प्रतिरक्षा शक्ति बलियो बनाउन, भिटामिन बी ६, भिटामिन सीले शरीरलाई फुर्तिलो बनाउन, नियमित सेवनले शरीरको तौल घटाउन सहयोग गर्ने, पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट जोगाउने, मधुमेह रोगलाई नियन्त्रण गर्न प्रयास गर्ने, पाचन क्रियालाई मजबुत बनाउन सहज हुन्छ ।

थाहा खबरका लागि सञ्जय रेग्मीले लेखेको समाचार साभार गरिएको