Print

‘सम्बृद्ध नेपाल यहि पुस्ताले देख्नेछ’–सांसद गिरी

२५ मंसीर, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले सरकार सम्बृद्धिको यात्रामा अघि बढेको बताउँदै यहि पुस्ताले त्यो फल प्राप्त गर्ने बताएका छन । जलजला गाउँपालिकाको मिलनचोकमा आयोजीत गाई संरक्षण सम्बन्धि महायज्ञमा बोल्दै सांसद गिरीले नेपाली जनताले लामो समय देखि सपनामा देखेको सम्बृद्ध नेपाल अहिलेकै पुस्ताले देख्ने दावी गरेका हुन ।

उनले विकास विकासका लागि वर्तमान ओली सरकारले योजनाबद्ध कामहरु अगाडि बढाएको उल्लेख गर्दै त्यसको प्रतिफल जनताले प्राप्त गर्न थालिसकेको बताए । सांसद गिरीले विकास निर्माणमा विश्व समुदायको भन्दा छिटो र दुूत गतिमा नेपालले काम गरीरहेको उल्लेख गर्दै सम्बृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुने ठोकुवा गरे ।

सांसद गिरीले धर्म र संस्कृतिलाई वैज्ञानिक र आधुनिक तरिकाले अवलम्बन गर्नुपर्ने धारणा राख्दै पर्वतको जलजला क्षेत्रको विकासका दिन शुरु भईसकेको बताए । निर्वाचनको बेला आफूले सवै मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता गर्दा कतिपय नेताले त्यो पुरा नहुने सपना भने पनि ति सपना क्रमशः साकार हुन थालेको गिरीको भनाई छ । जिल्लाका मूख्य सडकहरु कालोपत्रे गर्ने सपना केहि बर्षमा नै पुरा हुने विश्वास दिलाउँदै खानेपानी, स्वास्थ्य र सिंचाईको क्षेत्रमा पनि उल्लेखनीय काम जिल्लामा भईरहेको उनको भनाई छ ।

गरिब जनताको मत लिएर सिंहदरवार छिरेको स्मरण गर्दै सांसदको भूमिकामा रहँदा आफूले सधै पर्वतका दुरदराजका जनतालाई झल्झल्ती सम्झिरहेको गिरीको भनाई छ । जनताले गरेको विश्वासमा रत्तिपनि कुठरापात नहुने गरी काम गरीरहेको कार्यक्रममा उनले दावी गरे । आफू गरिब जनताको जनप्रतिनिधि भएको स्मरण गराउँदै सधै जनताको सुख र खुशी नै आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

हिन्दु धर्माबलम्बीहरुले पुजा गर्ने गाईको संरक्षणका लागि आयोजीत महायज्ञमा संकलीत रकमले गाईको संरक्षण गरिने आयोजकले जनाएका छन । उक्त महायज्ञमा सांसद गिरीले गौशाला निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । उनले पूर्वाधार साझेदारी कार्यक्रम मार्फत उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन । महोत्सवको अवसरमा आयोजीत झण्डै १ सय जना जेष्ठ नगारिक सम्मान कार्यक्रममा समेत सांसद गिरी सहभागी भएका थिए ।