२९ जेठ, पर्वत । मोदी गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप कार्यक्रमका बीच अत्यावश्यक सामाग्रीहरु प्रदान गरिएको छ । महिला स्वास्थ्य स्वयम्सेवीकाहरुको कार्य सम्पादनमा सहजता होस भनेर झोला, थर्मोिमटर, कैची र यातायात खर्च प्रदान गरिएको मोदी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
सामाग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सेती महतले ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणको टेवा’ को नाराले अभिप्रेरित महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम नेपालमा स्वास्थ्य सेवाको एक महत्वपूर्ण र नमुना कार्यक्रम भएको बताईन ।
कार्यक्रममा बोल्दै गांउपालिकाका प्रवक्ता एवा ६ नं वडाका वडा अध्यक्ष बिमल लामिछानेले महिला स्वास्थ्य स्वयंसेविकाले वडास्तरमै बाल स्वास्थ्य, गर्भवती जांच, सुत्केरी सेवा, परिवार नियोजन, खोप सेवा, गाउँघर क्लिनिक संचालन लगायतका सेवाहरुमा प्रदानमा सहजीकण गरीरहेको बताए । उनले जनतालाई स्वास्थ्य सूचना, शिक्षा र सञ्चारसम्बन्धी सन्देश पु¥याई गरेको योगदानको कदर गर्नका लागि यस प्रकारका कार्यक्रमहरू आवश्यकता रहेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य संयोजक उमेश कुमार अधिकारीले स्वयम्सवेकीकाहरुको योगदानकै कारण ब्यक्ति र वस्तीस्तरमा स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गर्न थप सहज भएको बताए । अधिकारीले थोरै प्रोत्साहन रकममा स्वास्थ्य स्वयम्सेवकीकाहरुले ठूलो सहयोग पुराउदै आएको समेत बताए ।
तथ्यांक अनुसार मोदी गाउँपालिकामा हाल महिला स्वयंसेविकाको संख्या ७४ रहेका छन ।
वस्ती स्तरमा स्वास्थ्य सन्देश प्रवाह गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले सहयोग पुराउदै आएको छ । यो कार्यक्रम भारतको आँगनवाडी कार्यक्रमलाई मूर्तरुप दिई नेपालमा स्वास्थ्य स्वयंसेवक कार्यक्रमको सूत्रपात गरिएको हो । स्वास्थ्यकर्मीको सबल नेतृत्व र सेविकाको सहयोगमा मातृ–शिशु स्वास्थ्य, शिशु तथा बालबालिका स्वास्थ्य सम्बन्धी लक्ष्यअनुसार उपलब्धि हासिल हुन सघाउ पुगेको छ ।




